काठमाडौं– पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान ०४ः२५ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो ।


ADVERTISEMENT


ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई अप्ठ्यारो भएको थियो । स्थानीयबासी आगलागीपछि त्रसित बनेका थिए । स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि आगोले क्षति पुर्याएको छ ।

दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले पहिलो तल्लाबाट सल्किएको आगो समयमै नियन्त्रण गर्न नसक्दा चौथो तल्लासम्म फैलिएको र १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी दिए । ‘आगो लागेको जानकारी हामीलार्इ पौने ४ बजे आएपछि तुरून्तै घटनास्थल पुग्यौं, १० मिनेटमै दमकल पनि आइपुग्यो । तर, सिलिन्डर पड्किन थालेकाले आगो निभाउन तुरून्तै सकिएन । त्यसैले बढी क्षति भयो’, डीएसपी मल्लले भने । आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको डीएसपी मल्लले जानकारी दिए ।