काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन १६, १७ र १८ गते गर्ने निर्णय गरेको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिकमा महाधिवेशन गर्ने भएको हो ।


ADVERTISEMENT


तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । उनले भने, ‘हामीले महाधिवेशन कात्तिक १६ गतेदेखि गर्ने निर्णय गरेका छौं । तर कहाँ भन्ने कुरा चाहिँ पार्टीसँग सल्लाह गरेर टुंगो लगाउँछौं ।’


ADVERTISEMENT

# # #


तिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ । तर नेविसंघ महाधिवेशन भने कात्तिक १६ देखि १८ गतेसम्म गर्ने तय गरिएको छ । त्यसैले कतिपयले महाधिवेशन सर्ने आशंका गरेका छन् । तर, अध्यक्ष महर भने महाधिवेशन कुनै पनि हालतमा नसर्ने दाबी गर्छन् । उनले भने, ‘वैधानिक संकटकालको अवस्थामा भएकाले महाधिवेशन सार्ने सुविधा हामीलाई छैन । कुनै पनि हालतमा तोकिएकै मितिमा महाधिवेशन हुन्छ ।’

यस्तो छ महाधिवेशन कार्यतालिका
महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।

त्यसपछि केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्नेछन् । अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार हुन्छ ।

महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ । उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने छ । त्यसपछि १६ गते महाधिवेशनको उदघाटन गर्ने र १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका बनाइएको अध्यक्ष महरले जानकारी दिए ।