घोराही– घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि : खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको छ । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा विकास गर्न स्थानीय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत आयोजना गर्न मैदानको व्यवस्थापनमा पौने एक करोड खर्चिएको छ ।


ADVERTISEMENT


उपमहानगरपालिका– १७ गुलरीयामा निर्माणाधिन खेलकूद मैदानका लागि सात कठ्ठा २ धुर जग्गा खरिद गरिएको छ । मैदान साँघुरो हुने भएपछि स्थानीयवासीको जग्गा उपमहानगरले खरिद गरेको हो । सात कित्तामा रहेको सात कठ्ठा दुई धुर जमीन खरिद गरी मैदानलाई फराकिलो र व्यवस्थित बनाउने काम शुरु भएको इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार करीब रु ७५ लाखमा उक्त जग्गा खरीद गरिएको हो । उपमहानगरले चालु आर्थिक वर्षमा खेलकूदको विकास गर्न सशर्त तर्फ एक लाख र निशर्त तर्फ रु १३ लाख ६० हजार गरी रु १४ लाख ६० हजार विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


नगर प्रमुख नरुलाल चौधरीले खेलकूद सामाजिक विकासको अभिन्न अङ्ग भएको भन्दै एक वडा एक खेलकूद मैदानलाई सार्थकता दिने दाबी गरे । वडा नं १७ मा १५ बिगाहाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरीय रङ्शाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यसवर्ष रङ्गशाला निर्माण योजना बनाएको उनको भनाइ छ । गतवर्ष रङ्गशाला क्षेत्र भर तारजाली गर्नुका साथै माटो सम्याउने कार्य सम्पन्न भएको छ ।

रङ्शाला निर्माणसँगै दाङका खेलाडी उत्साहित भएका छन् । गुलरियामा प्रदेशस्तरको रङ्शाला निर्माण गरेसँगै उत्साहित भएका खेलाडीले अब आफूहरु हौसिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा २०४१ सालदेखि सहभागिता जनाउन शुरु गरेको दाङले साढे ४ दशकको अवधिमा सन्तोषजनक नतिजा निकाल्न नसकेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए । खेल मैदानको अभावमा प्रतिभाशाली खेलाडी उत्पादन हुन नसकेको भन्दै अध्यक्ष मजगैयाले रङ्शाला निर्माण भएसँगै खेलाडीमा उत्साह जागेको बताए ।

जिल्लाले हालसम्म आठ राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरेको छ । दाङका राजवीर सिंह, सुशान्तसिंह थापा, अनुप न्यौपाने, मनोज वैश्य, चुन्नु पाण्डे, अनिल गुप्ता, लक्ष्मी चौधरी र सनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका छन । निर्माणाधीन रङ्गशालाको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष मजगैयाले टप विकेट, कपडा फेर्ने तथा नुहाउने कोठालगायतका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ भने । उनले यी पूर्वाधारको निर्माणसँगै लिग चरणका प्रतियोगिता सञ्चालनमा ल्याउने बताए। – रीता लामा/रासस