बाँके– नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् ।


ADVERTISEMENT


जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचना एकपछि अर्को गर्दै बनिरहेका छन् । त्यसमाथि सवारी साधनको सङ्ख्यामा उस्तै वृद्धि भइरहेको छ ।


ADVERTISEMENT

# # #


नेपालगञ्जमा अन्य सवारीको सङ्ख्याभन्दा ब्याट्रीबाट चल्ने अटोरिक्साको सङ्ख्या ह्वात्तै बढेको छ । साँघुरा सडककै कारण नेपालगञ्जले बेलाबेलामा अन्य शहरको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जाराले बताएका छन् ।

साधारण रिक्सा विस्थापित गर्दै ब्याट्री तथा पेट्रोलबाट चल्ने अटोरिक्सा सञ्चालनमा आएपछि भित्री सडकमा बेलाबेलामा ट्राफिक जाम हुने गरेको नगरवासीको भनाइ छ ।

नेपालगञ्जका निकै व्यस्त रहने घरबारी टोल, सदरलाइन, त्रिवेणी मोड, एकलैनीलगायतका क्षेत्रमा ट्राफिक जामको समस्या देखिइरहेको छ । “दैनिक एकपटक जाम हुन्छ”, सदरलाइनका स्थानीयवासी जमिल शेखले भने, “पहिले कमै सवारी चल्थे, भीडभाड हुँदैनथ्यो । अहिले भने सवारीको भीड र होहल्लाले हैरान बनाउँछ ।”

साधारण रिक्साभन्दा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुहरू अटोरिक्सामै चढ्छन् । यात्रुको रोजाइमा अटोरिक्सा नै परेपछि नेपालगञ्जमा अटोरिक्साको सङ्ख्या एक्कासी बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताएका छन् ।

यसअघि अटोरिक्सालाई फोरलेन सडकमा चलाउन प्रतिबन्धसमेत गरिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेन । अटोरिक्साले लेन अनुशासन पालन नगर्दा ट्राफिक प्रहरीको टाउको दुःखाइको विषय बनेको छ ।

सडकमा जथाभावी पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापनका लागि चोकमा खटिएका दुई/तीन जना ट्राफिक प्रहरीको काम उनीहरूलाई व्यवस्थित गर्नमै बित्ने गरेको छ”, नेपालगञ्जको धम्बोझी चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुलबहादुर वलीको भनाइ छ ।

अटोरिक्साको जथाभावी पार्किङ्कै कारण नेपालगञ्ज–कोहलपुर खडकखण्डको राँझा चोक र गनापुर चोकमा पटक–पटक सवारी दुर्घटनासमेत भएको ट्राफिक प्रहरी पोष्ट गनापुरका इन्चार्ज दिनेशकुमार पण्डितको भनाइ छ । यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जले रुट परमिट जारी गरेको भए पनि अटोरिक्सा भने आफूखुशी चल्दै आएका छन् ।

८० प्रतिशतसँग छैन लाइसेन्स
यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जमा दर्ता भई बाँकेमा चल्ने ८० प्रतिशत अटोरिक्सा चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । बाँके जिल्लाभर चार हजारको हाराहारीमा रहेका अटोरिक्सामध्ये करीब आठ सय अटोरिक्सा चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान छ ।

ट्राफिक प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “रिक्सा चलाउने अधिकांश निरक्षर भएकै कारण लाइसेन्सको लिखित परीक्षामै फेल हुन्छन् । सामान्य लेखपढ गर्न पनि नजान्नेका लागि लिखित परीक्षा लिनु उपयुक्त होइन ।” यातायात कार्यालयसँग यसबारे छलफल भइरहेको र लिखित परीक्षा हटाउँदा शतप्रतिशतले लाइसेन्स प्राप्त गर्ने उनको दाबी रहेको छ । रासस