बीबीसी– एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ । चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो ।


ADVERTISEMENT


मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ । उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ ।


ADVERTISEMENT

# # #


ती महिलाका पतिलाई उद्‌धृत गर्दै एउटा स्थानीय समाचार संस्थाले त्यो रकम उनीहरूले लिन अस्वीकार गरेको जनाएको छ । ‘मा’ भनेर एउटा नामबाट चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न चाहेको बताएका छन् ।

गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए । केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन् । यदि उनलाई आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको ती महिलाका पतिले जनाएका छन् ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उसिनिएको उक्त मुसाको तस्बिर प्रेषित भएपछि धेरैले घृणा र आक्रोश व्यक्त गरेका छन् । एक जनाले लेखेका छन्, “मलाई वाक्क आउला जस्तो हुन्छ । म अब बाहिर कहिल्यै हट्पट खान्नँ ।”

केही दिनपछि सेप्टेम्बर ११ मा सो कम्पनीको शेअर मूल्य गत वर्ष अक्टोबरपछिको सबभन्दा न्यून विन्दुमा पुग्यो । तर बुधवारदेखि उसको बजार मूल्यमा केही सुधार आउन थालेको छ । “जायबु जायबु मलाई मन पर्ने रेस्टुरेन्ट हो । मलाई लाग्थ्यो उनीहरू सफा छन्‘ । तर म यो पत्याउनै सक्दिनँ,” अर्का एक जनाले वेइबोमा लेखेका छन् ।

“यदि उनको बच्चालाई केही भइहाल्यो भने उनीहरूले कसरी क्षतिपूर्ति गर्छन् ? के जीवनको मूल्य २० हजार युआन मात्रै हो ?” एक प्रयोगकर्ताको प्रश्न छ । सरसफाइको कमीका कारण मुसा खानेकुरामा पुगेको हुनसक्ने सम्भावना अस्वीकार गर्दै सो रेस्टुरेन्टले शनिवार एउटा सन्देश लेखेको थियो । तर पछि उसले त्यो मेट्यो ।

सुपमा मुसा पाइएको वेइफङ नगरका अधिकारीहरूले जाइबु जाइबु रेस्टुरेन्टबारे छानबिन हुने बताएका छन् । हट्पट चीन र एशियाका अरू भागमा प्रचलित एउटा परिकार हो । उम्लिरहेको तातो सुपको भाँडो डाइनिङ टेबलमा राखेर त्यसमा विभिन्न तरकारी र काँचो मासु हालेर पकाइन्छ । त्यो परिकार नै हट्पट हो ।