काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउने बताएका छन्।


ADVERTISEMENT


शुक्रबार राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए। उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरे।


ADVERTISEMENT

# # #


भदौ ७ गते गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले यस घटनामा संलग्न को हुन र अनुसन्धानको क्रममा कसले लापरबाही गरे भन्ने अनुसन्धान गरिरहेको उनले बताए।

गृहमन्त्रीले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए।

हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए। ‘त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थियो, ’ थापाले भने।

उनले खोजतलास साप्ताहिक र खोजतलास डटकममा प्रधानसम्पादकलाई प्रहरीले हिरासतमा लिँदा केही त्रुटी भएको स्वीकारे। ‘पत्रकारलाई हत्कडी लगाइयो भन्ने कुरा छ। त्यो किन गरिएको भनेर हामीले सोधेका छौं र आगामी दिनमा नगर्न निर्देशन दिएका छौं,’ थापाले भने।