काठमाडौं– वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम भएको छ । संसदको राज्यव्यवस्था समितिले सामाजिक सुरक्षाका विषयमा व्यवस्था गर्न बनेको विधेयकमा ७० वर्ष उमेर कायम गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


एकल महिला र दलितले भने ६५ वर्षकै उमेमा वृद्धभत्ता पाउनेछन् । सरकारले निर्देशिकाको भरमा यस्तो भत्ता प्रदान गर्दै आएको थियो । दलहरूले वृद्धभत्तालाई चुनावी नारा समेत बनाउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


पहिलोपटक कानुनमार्फत् उमेर तोक्न लागिएको हो। समितिले ७० वर्ष उमेर तय गर्दै प्रतिवेदन तयार गरेको हो । समितिको प्रतिवेदन शनिबार संसदमा पेश हुँदैछ । समितिले जनआन्दोलनका घाइते, सहिद परिवारलाई समेत भत्ता दिने व्यवस्था गरेको छ ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो ।

शेरबहादुर देउवा सरकारले २०७४ सालमा मन्त्रिपरिषदबाट वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको थियो । लगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय प्रमाणिकरण नभएको भन्दै कार्यान्वयनबाट पन्छाइदिएको थियो ।