दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ । नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाको चिन्ता र चासोको विषय भएकाले नगरलाई सफा राख्न फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।


ADVERTISEMENT


नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


सोहीअनुसार हालै मात्रै शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिनाभन्दा तल व्यवस्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिएका छन् । उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २४ लाख खर्च भएको छ ।

नगरपालिकाले आगामी चार वर्षभित्र पूर्ण सरसफाइ र वातावरणमैत्री नगर बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि नगर क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पु¥याउन तालीम दिइनेछ । त्यस्तै वातावरण र सरसफाइको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई प्रत्येक वर्ष पुरस्कार र सम्मानको व्यवस्था मिलाइने प्रवक्ता कुमालले जानकारी दिएका छन् ।

उनका अनुसार सार्वजनिक निजी साझेदारीमार्फत सरसफाइ र वातावरण सुधारका कार्यक्रम सञ्चालन गरिनेछ ।

फोहरलाई मोहर बनाउने सचेतना कार्यक्रम सञ्चालन गरी जनसहभागितामा सफा र सभ्य नगरपालिकाका रूपमा विकास गर्ने योजना बनाएको शुक्लागण्डकीले सार्वजनिक शौचालय व्यवस्थापनका साथै आवश्यकताअनुसार नयाँ योजना बनाएको छ ।