• कुसुम भट्टराई

नेपाली काँग्रेस पार्टीमा स्थापनाकालदेखि नै धनीहरुको वर्चस्व रह्यो । सुवर्णशमसेर राणादेखि महावीर शमसेरसम्मका धनाढ्यहरुले काँग्रेसलाई मलजल गरे । सोही कारण सात सालको क्रान्तिताका होस् या निर्वासनका दिनहरुमा नै किन नहोस्, काँग्रेसको सँस्थापन पक्ष र नेतृत्वमा रहेका मानिसहरुका लागि आर्थिक अभाव खासै भएन । मुलुकमा पंचायती कालरात्रीका बेलामा पनि तिनका सन्तानले विदेशमा बसेर पढ्ने मौका पाए । कहाँसम्म भने बैंकको लाखौं रकम लिएर उडीरहेको विमान अपहरण गरेरै भए पनि आर्थिक अभाव टार्ने काम भयो ।


ADVERTISEMENT


वर्गीय रुपमा पनि काँग्रेसले स्थापनाकालदेखि नै दलाल एकाधिकार पुँजीपती वर्ग, सामन्त र जमीनदारहरुकै पृष्ठपोषण गर्दै आएको देखिन्छ । सोही कारण काँग्रेस पार्टीमा धनीहरुको वर्चस्व छ । धनीहरुको जीवनशैली स्वभावतः भड्किलो भैहाल्छ । चुनावमा उनीहरुबाट टन्नै खर्च हुन्छ । गुण्डादेखि गनसम्मका लागि उनीहरु पैसा बगाउन सक्छन् । यस्तो संस्कार मौलाउँदै जाँदा ‘राजनीति गर्नका लागि टन्नै पैसा चाहिन्छ’ भन्ने मान्यता एकातिर स्थापित हुँदै गयो भने अर्कोतिर ‘पैसा कमाउन राजनीति नै गर्नुपर्छ’ भन्ने मान्यताले प्रश्रय पाउँदै गयो ।


ADVERTISEMENT

# # #


काँग्रेसको सिको कम्युनिष्टहरुले पनि गर्न थाले । कम्युनिष्टहरु त झन काँग्रेसभन्दा चौखण्ड भ्रष्ट हुँदै गए । २०४६ सालको परिवर्तनपछि लोभीपापीहरुको एउटा पङ्ती पैसा कमाउनकै लागि राजनीतिमा प्रवेश गर्यो । ‘करप्ट विजनेश माइन्ड’ भएका ती मानिसहरुले सुरुमा राजनीतिमा आफु स्थापित हुनका लागि आफुसँग भएको पैसा खर्च गरे, जब राजनीतिको माथिल्लो तहमा पुगे, तब पैसा कमाउने धन्दा सुरु गरे । अर्थात पुँजी बजार या उद्योगमा झैं राजनीतिमा पनि उनीहरुले पहिला लगानी गरे, पछि लगानीको प्रतिफल लिन थाले । बहुदल आएयता नेपाली काँग्रेस, एमाले र राप्रपाका अधिकांश नेताहरुको आर्थिकस्तर हवात्तै माथि उठ्यो । २०४६ सालको जनआन्दोलन हुँदा रत्नपार्कमा पाँच रुपैया प्लेटमा पाइने बफ मःमः किनेर खाने हैसियत नभएका कतिपय नेताहरु हेर्दा–हेर्दै पजेरो चढेर हिँडन थाले, काठमाडौंमा आलीशन महलका मालिक बने । ती नेतापछिको पुस्ताले पनि त्यही सिक्यो । ठेक्कापट्टा, सरुवा बढुवा, नियुक्ती, चन्दा उठौती, जग्गा दलाली, तिब्बती शरणार्थी भित्र्याउने, डनहरुलाई संरक्षण आदि धन्दामा लाग्न थाले ।

एक कठ्ठा जमीन र तिन तोला सुन (जुन उनले विवरणमा पेश गरेका छन्) नै प्रचण्डको भौतिक सम्पत्ती हो भने छोरीलाई करोडौंको बंगला बनाइदिने रकम कहाँबाट आयो ?

वास्तविक रुपमै छानविन र अनुसन्धान गर्ने हो भने धेरै नेताहरुले बितेका दुई दशकमा रातारात अर्बौँ रुपैयाँ आर्जन गरेको पत्तो लाग्छ । यसबीचमा लाउडा काण्ड, धमीजा काण्ड, चेज एयर काण्ड, चिनी काण्ड, मल काण्ड, सुपारी काण्ड, स्याउ, लसुन र प्याज काण्ड भए । रक्त चन्दनदेखि सुन तस्करीको नेटवर्क दलको शिर्ष तहसम्म जोडियो । राम्रो ठाउँमा सरुवा हुन प्रहरीका हाकिमहरुले नै नेताहरुलाई लाखौं नजराना चढाउन थाले । कर्मचारीतन्त्रको भ्रष्ट सँजालसँग नेताहरुको साइनो जोडियो । यसरी लोकतन्त्रलाई केही मुट्ठीभर राजनीतिक गिरोहले ठगी, लुटी र मागी खाने भाँडो बनाए ।

विगत १२ वर्षको संसदीय कालखण्डमा सांसद खरिदविक्रीका लागि बोराका बोरा नोट पार्टी कार्यालयमा पुगेको कसैबाट छिपेको छैन । राजनीतिलाई पेशा र व्यापारमा परिणत गरिएकाले राजनीतिमा लाग्नेहरुमा आम सोच के विकास भयो भने ‘राजनीति गर्न पैसा चाहिन्छ, त्यसका लागि पदमा भएको बेलामै पैसा कमाउनुपर्छ ।’ सोही कारण कुनै पनि नयाँ मान्छे मन्त्री बन्न नपाउँदै आफ्नो सिमित कार्यकालमा जसरी हुन्छ धन आर्जन गर्ने धुनमा लाग्छ । उसले बन्दै गरेको आकोश पुल भत्काएर नयाँ ठाउँमा आकाशे पुल बनाउला या आफ्नो मन्त्रालयअन्तर्गतका विभागहरुका लागि नयाँ गाडी मगाउला या केही न केही कमीसनयोग्य काम अघि बढाउला । दीर्घकालीन सोच र योजना अनुसार नभई दुई चार पैसा कमाइ गर्नकै लागि माफीया र कमीसनखोरसँग उसले साँठगाँठ बढाउँछ । चाहे त्यो तेल माफीयासँग होस्, चाहे जलश्रोत माफीयासँग होस्, चाहे हतियार माफीयासँग होस्, चाहे न्याय क्षेत्रका माफीयासँग होस्, चाहे भ्रष्टाचारी र अपराधिक माफीयासँग किन नहोस्, उसको हिमचिम बढन थाल्छ ।

एउटा धुर्त र चलाख मान्छे आठ–दश महिना मन्त्री भएर बाहिर आउनासाथ नव धनाढ्य वर्गमा परिणत भएको देख्न पाइन्छ । उसको लवाई खवाई र रवाफ नै परिवर्तन हुन थाल्छ । अनि कमाएको त्यही पैसाको बलमा उ राजनीतिको शिखर चढन थाल्छ । विस्तारै उसले आय आर्जनका धेरै सम्भावनाहरु देख्न थाल्छ । विदेशी दाता, दुतावास र दलालहरुको सञ्जालमा उसको पनि सहभागिता हुन थाल्छ । हेर्दा हेर्दै उ मुलुकको ठुलै धनी मानिस बन्नपुग्छ । अनि राजनीति उसका लागि धन कमाउने साधन बन्नपुग्छ । यो हाम्रो नेपाली राजनीतिको बिडम्बनापूर्ण सँस्कार हो, जुन बिगत बाह« वर्षे सँसदीय अभ्यासका क्रममा मौलायो र आज पनि त्यो कायमै छ ।

२०५२ सालमा माओवादीले जनयुद्ध प्रारम्भ गरेपछि देशको ढुकुटीमा ब्रम्हलुट गर्दै आएका नेताहरुको मोजमस्तीको साम्राज्यमा धक्का पुग्न गयो, संसदीय खेलका नाममा धन थुपार्ने उनीहरुको चाहना अब पुरा नहुने भयो, अनि खाइपाइ आएको वर्ग माओवादीको विरुद्धमा एकढिक्का भयो । काँग्रेस, एमाले, राप्रपा, दरबार, भारत, अमेरीकासम्म माओवादीलाई हतियारको बलमा निमिटयान्न पार्ने अभियानमा लागे । माओवादी विद्रोहलाई समेत उनीहरुले कमाउने बहाना बनाउन थाले ।

तर, उनीहरुको केही जोर चलेन, बिद्रोह चर्कदै गयो । एउटा विन्दुमा पुगेपछि अवस्था कस्तो सिर्जना भयो भने काँग्रेस, एमाले, राप्रपा, दरबार र हुनेखाने वर्गको एउटा तप्का कडा सुरक्षा घेरामा राजधानीमा चक्रपथभित्र मोजमस्तीको जीवन बाँच्ने, राजधानीबाहिर मुलुकभरका जनताचाहीँ द्वन्द्वको शिकार भइरहने । सिँगो मुलुक जले पनि राजधानीका सभ्रान्त र शाषक वर्गलाई केही फरक नपर्ने । त्यस्तो अवस्था कायम राखीरहनु जनतामाथिको अन्याय हुने देखेर माओवादी अध्यक्ष प्रचण्डले राजधानी केन्द्रीत संघर्ष प्रारम्भ गर्ने रणनीति ल्याए । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ तयारी गरे । थानकोट आक्रमणपछि राजधानीमा द्वन्द्वको आँधी चल्न थाल्यो । २०६२/०६३ को आन्दोलनपछि नेपाली राजनीतिमा माओवादी नामक नयाँ जुझारु दलको प्रवेश भयो ।

मानिसहरुलाई लागेको थियो, माओवादीले अब पक्कै केही गर्नेछ । उसले भ्रष्टाचारको पूरानो विकृती दोहोर्याउने छैन । तर, सांसद, मन्त्री र प्रधानमन्त्री भएपछि माओवादी नेताहरु पनि काँग्रेस र एमाले झैं बिग्रिए । लडाकुको रासनमै घोटाला गरियो । सुडान घोटाला, एनसेल कर छली, सुमार्गी एण्ड कम्पनी आदि अनेक काण्डमा माओवादी शीर्ष नेतृत्व मुछियो ।

अहिले सत्तारुढ नेकपाका अधिकांश नेता या कार्यकर्तालाई लाग्छ कि राजनीतिमा लागेपछि पैसा कमाउनैपर्छ । राजनीतिमा लागेर पैसा नकमाउने बेवकुफ हो भन्ने आम मान्यता छ । सोही कारण राजनीतिमा लागेर माओवादी नेताहरुले पनि पैसा कमाउन थाले । उनीहरुलाई लाग्यो, ‘अरे यार, राजनीतिमा लागेपछि पैसा त अकुत कमाउनै पर्छ ।’

तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ती एक कठ्ठा जमीन र तिन तोला सुन हो भनेर जग हँसाए । तर बेलाबेलामा हङकङदेखि बैंककसम्म, स्वीर्जल्याण्डदेखि युरोपसम्म उनको भ्रमणको राज के हो कसैलाई थाहा छैन, या कमैलाई थाहा छ । आखिर, राजनीतिमा लाग्ने एउटा सामान्य तहको ‘ठेटना’ले समेत करोडौं कमाइरहेको छ भने प्रचण्ड त झन् नेपाली राजनीतिको मियो, शिर्ष नेता र अपरिहार्य व्यक्तित्व । ‘प्रचण्डले कमाउन के बाँकी राखे होलान् र ?’ भन्ने आम धारणा गलत हैन ।

सारा देश जसको नेतृत्वमा चलीरहेको छ अनि सारा देशका जनताले जोमाथि आशा र भरोसा गरीरहेका छन्, त्यो मान्छेको लागि बैंक ब्यालेन्स, बंगला र गाडीभन्दा ठुलो धन भनेको जनताको विश्वास हुनुपर्ने हो, जनता नै उसको पुँजी हुनुपर्ने हो । तर त्यसो भइरहेको छैन ।

माओवादी नेताहरुले जनयुद्ध प्रारम्भ हुँदा नै आफ्ना सारा सम्पत्ती पार्टीलाई बुझाए । तर, अहिले हरेक नेताका गाडी र बंगला छन् । त्यो कहाँबाट आयो ? एक कठ्ठा जमिन र तीन तोला सुन (जुन उनले विवरणमा पेश गरेका छन्) नै प्रचण्डको भौतिक सम्पत्ती हो भने छोरीलाई करोडौंको बंगला बनाइदिने रकम कहाँबाट आयो ? सुकुटेमा लेखेको दस्ताबेज बेचेर ?