काठमाडौं – कात्तिक दोस्रो साता सुरु हुने पोखरा प्रिमिएर लिग क्रिकेटका लागि खेलाडी दर्ता सुरु भएको छ । आयोजक क्विन्स इभेन्ट प्राइभेट लिमिटेडले प्रेस विज्ञप्ती जारी गर्दै दर्ता सुरु भएको जनाएको छ ।


ADVERTISEMENT


प्रतियोगिता खेल्न इच्छुक रहेका खेलाडीले www.ppl-t20.com मा गएर नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । दर्ता शुल्क लाग्ने १ हजार रुपैयाँ इ–सेवामार्फत् तिर्न मिल्ने आयोजकले जनाएको छ । सहभागि हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी ३ श्रेणीमा विभाजन गरिनेछ ।


ADVERTISEMENT

# # #


क्याप्ड सिनियरमा राष्ट्रिय क्रिकेट टिमबाट खेलेका खेलाडी, क्याप्ड एज लेभलमा उमेर समूहबाट खेलेका खेलाडी र अनक्याप्डमा राष्ट्रिय टोली र उमेर समूहबाट नखेलेका खेलाडी समावेश हुनेछन् । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ राखिएको पिपिएलका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्न पाउनेछन् । अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ । एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना स्थानीय आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ । खेलाडी दर्ता असोज ९ गतेसम्म रहने आयोजकले जनाएको छ ।