काठमाडौँ– पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौँ महानगरमा चाङ लाग्न थालेको छ । करीब तीन महिनाअघि कामपाले निर्माण भएका तर नियमअनुरुप निर्माण नभएका घरको लागि निवेदन दिनका लागि सूचना निकालेको थियो ।


ADVERTISEMENT


निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरूप बनाउन यस किसिमको व्यवस्था गरेको कामपाले जनाएको छ । नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ सहप्रवक्ता नवराज ढकालले बताएका छन् ।


ADVERTISEMENT

# # #


नियमअनुरुप गर्नका लागि घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गरेका छन् । सोही सूचनालाई आधार मानी अहिले कामपामा निवेदन ठूलो सङ्ख्यामा आएको सहप्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार अहिले कामपामा नक्साको काम अनलाइनबाट हुन्छ, आगामी आइतबारसम्ममा सङ्ख्यात्मकरुपमा नै तथ्याङ्क आउँछ महानगरमा धेरै घर नियमविपरीत निर्माण भएका छन् ।

निर्माण सम्पन्न भइसकेका भवनलाई तीन वर्गमा विभाजन गरेर सरल मापदण्डका आधारमा सुधार गर्न संशोधित मापदण्डबाट महानगरले काम थालेपछि निवेदकको सङ्ख्या बढेको हो ।

असार २७ गते सम्पन्न नगरसभाबाट स्वीकृत भवन निर्माण मापदण्ड २०७५ का आधारमा तयार पारिएको कार्यविधिका आधारमा भवन विभागले घरधनीबाट निवेदन लिन शुरु गरेको हो । कार्यविधिले, भवन निर्माण गर्दा मापदण्ड पालना नभएका भवनलाई कैफियतमा विवरण उल्लेख गरी निर्माण सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।

महानगरपालिका क्षेत्रभित्रमा नयाँ निर्माण हुने, तला थप गर्नु, संरचना हेरफेर गर्नुपर्ने तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कामलाई सरल बनाउन यस प्रकारको व्यवस्था अघि सारिएको हो ।

यातायात आवागमन, पार्किङ, खुला स्थानको उपलब्धता, भवनको अवस्था, बनावट, उपयोग, भौतिक तथा सामाजिक सुरक्षा, छिमेकीसँगको सम्बन्धजस्ता विभिन्न पक्षबाट भवन नियमित गर्न खोजिएको भवन निर्माण इजाजत विभागका प्रमुख रवीन्द्रकुमार पौडेलले बताएका छन् ।

कागजपत्र पुगेको नक्सा स्वीकृत हुन २५ देखि ३० दिन लाग्छ भने निर्माण सम्पन्न भएको प्रमाणपत्र प्राप्त गर्न प्रक्रिया शुरु भएको मितिले सात दिनदेखि १० दिन लाग्छ । पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घरधनीको घरमा पुगी नक्सापासको प्रक्रियामा लगिने छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरूपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधानअनुरुप कामपाले यस व्यवस्था गरेको हो ।

यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको सङ्ख्यामा कमी आएको छ । अघिल्ला वर्षमा दैनिक २० सम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० मात्र आउने गरेको छ । कामपाले नक्सापास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरूपमा कामपाभित्र भवन निर्माण गर्ने जमीनको अभावका कारण पनि नक्सापास गर्न आउनेको सङ्ख्यामा कमी आएको कामपाको भनाइ छ ।

निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरूपले वृद्धि भइरहेको छ । कामपामा ९० प्रतिशत भवन मापदण्डविपरीत निर्माण भएको छ । रासस