काठमाडौं– गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन् । ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए ।


ADVERTISEMENT


तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन् । उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए । गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए ।


ADVERTISEMENT

# # #


निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन् । तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए । त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए ।

सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो । त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो ।

ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड
वामदेवले निर्वाचन हारेपछि उनलाई संसद्मा ल्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलिरहेको नेकपा (पूर्व एमाले) का एक नेता दाबी गर्छन् । दाहालले अर्का अध्यक्ष ओलीसँगको आफ्नो बार्गेनिङ बलियो बनाउन सांसद बनाउन लागिपरेको ती नेता बताउँछन् ।

‘अहिले अध्यक्ष दाहालको भूमिका सेरोमोनियल मात्र हो, उहाँ आफ्नो भूमिका बढाउन चाहनुहुन्छ, त्यसका लागि वामदेवलाई कार्डका रूपमा प्रयोग गर्न सांसद बनाउन लागिरहनुभएको छ,’ ती नेताले भने । ओलीलाई घेराबन्दी गर्ने रणनीतिअनुसार दाहालले गौतमलाई अघि सारेको ती नेताको दाबी छ । – आजको नागरिक दैनिकबाट