काठमाडौँ– आख्यानकार भुवनहरि सिग्देलको नवीनतम उपन्यास ‘धनञ्जय’ सार्वजनिक भएको छ । बिहीबार सर्वनाम थिएटरमा आयोजित एक समारोहमा उपन्यासको विमोचन गरिएको हो ।


ADVERTISEMENT


विमोचनसँगै उपन्यासमाथि अन्तरक्रियात्मक छलफल पनि गरियो । प्रा. माधव पोख्रेल, प्रा. राजेन्द्र सुवेदी, प्रा. रामप्रसाद ज्ञवाली र कथाकार माया ठकुरी उक्त छलफलमा सामेल थिए । बाबु त्रिपाठीले कार्यक्रमको सञ्चालन गरे ।


ADVERTISEMENT

# # #


अन्तरसंवादमा वक्ताहरुले धनञ्जय उपन्यास सामाजिक यथार्थको धरातलमा उभिएर लेखिएको बताए । उपन्यासमा जीवन आदर्श र ईतिहासलाई पनि समेटेको कार्यक्रममा बताइयो ।

उपन्यासले इतिहाससँग वर्तमानलार्इ जोडेको वक्ताहरुको भनाइ थियो । यस उपन्यासभित्रका घटनाक्रम र पात्रका उतारचढाव आफैंमा रोचक र सन्देशमूलक रहेकाले युवापुस्तालार्इ समेत रुचिकर रहेको बताइयो ।

आख्यानकार सिग्देलका यसअघि ‘आमोई’, ‘सारंगी’, ‘रमिलानानी’ लगायतका उपन्यास चर्चित छन् ।

आमोई २०७२ सालका लागि मदन पुरस्कारको मनोनयनमा परेको उपन्यास हो भने सारंगीले २०७४ सालको रामराज पन्त स्मृति सम्मान प्राप्त गरेको थियो । उनी दशकौंदेखि कथा, कविता, निवन्ध, खण्डकाव्य, महाकाव्य तथा उपन्यास लगायत साहित्यका सबै विधामा सक्रिय लेखकका रुपमा दरिएका छन् ।

सांग्रिला बुक्सले बजारमा ल्याएको उपन्यास ‘धनञ्जय’को बजार मुल्य ५ सय रहेको छ ।