काठमाडौँ– सन्दीप लामिछाने र करण केसीको उत्कृष्ट प्रदर्शनपछि मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ ।


ADVERTISEMENT


मलेसियाको बायुसमास ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १७२ रन बनायो । १७३ रनको विजयी लक्ष्य पच्छ्याएको थाइल्याण्डको ८.५ ओभरमा ९ विकेटको क्षतीमा मात्र १८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । पानीले खेल प्रभावित भएसंगै नेपालले डीएल मेथडमा थाइल्याण्डलाई १४० रनमा हराएको हो ।


ADVERTISEMENT

# # #


थाइल्याण्डका ब्याट्समेन नेपाली बलरसामू निरीह साबित भए । थाइल्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा सन्दीप लामिछानेले पाँच तथा करण केसीले ३ विकेट लिए । सन्दीपले ३ ओभरमा एक मेडेन राख्दै ५ विकेट चट्काए । यस्तै करण केसीले १.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिए । यस्तै ललित राजवंशीका नाममा एक विकेट रह्यो ।

थाइल्याण्डका ५ जना ब्याट्समेनले खातासमेत खोल्न पाएनन् भने ३ जनाले समान १/१ रन बनाए । वान्चन उइसुक र जिउल हकले समान ७/७ रन बनाए ।

यसअघि ब्याटिङ तर्फ नेपालको ओपिनिङ आज केही आक्रामक देखिएको थियो । पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट हुनुअघि नेपालले २.३ ओभरमा २८ रन बनाएको थियो । विनोद व्यक्तिगत ८ बलमा एक छक्का र २ चौकाको मदतमा १५ रन बनाए । यस्तै अनिल शाह २५ रन बनाए ।

नेपालका लागि आठौँ नम्बरमा आएका करण केसीले जादू देखाएपछि कुनै समय सामान्य स्कोरमा नै सकेटिने देखिएको नेपाललाई माथि पुर्याए । उनले मात्र १४ रनमा सर्वाधिक ४० नटआउट रन बनाए । जसमा चार छक्का र २ चौका समावेश थिए । उनले सोमपालसंग मिलेर १७.२ ओभरमा १२८ ७ को स्थितिबाट उठाएर १७२ रनमा पुर्याए ।

यस्तै शरद भेषवाकरले ३४ रन बनाए । उनले २८ बलमा २ चौका प्रहार गरे भने दीपेन्द्र सिंह ऐरीले एक छक्का र ३ चौकाको मदतमा २६ बलमा ३० रन ठोके । आरिफ शेख ८ रन बनाए आउट हुँदा ज्ञानेन्द्र मल्ल ७ र कप्तान पारस खड्का ५ रन बनाएर फर्किए । सोमपाल कामी ४ रनमा नट आउट रहे ।

थाइल्याण्डका लागि पयुरपथ सग्नार्डले ४ विकेट लिए । उनले चार ओभरमा २१ रनमात्र खर्चिए । यस्तै भिचनाथ सिंहल २ तथा जियाउन हकले एक विकेट लिए ।

यस अघिको मलेसिया र म्यानमारसंगको खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । यससंगै नेपाल समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल मंगलबार भुटानसंग खेल्नेछ ।