बेनी– बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ ।


ADVERTISEMENT


दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । समुन्द्री सतहदेखि करीब दुई हजार ५०० मिटर उचाइमा अवस्थित सो स्थल प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको भए पनि प्रचार नहुँदा ओझेलमा परेको हो । स्थानीय तवरबाट पूर्वाधार विकासमा पहल भइरहेको छ । तर पनि सरकारी तवरबाट पर्याप्त पहल हुन नसक्दा यो क्षेत्रकाबारेमा प्रचार हुन नसकेको वडा सदस्य रत्नबहादुर जिसीले बताए ।


ADVERTISEMENT

# # #


आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट दान सङ्कलन भएको थियो । सो दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिसीले बताए ।

एकान्त र ज्ञान प्राप्त हुने भएकाले अहिले पनि तपस्वी तपस्या गर्न आउने गरेका छन् । “आश्रम नजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंवदन्ती छ, स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वाससमेत छ”, स्थानीय युवा तारामिलन छन्त्यालले भने।

अहिले दैनिकरुपमा पूजा हुने यस स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ हरेक वर्षको वैशाख १ गते रथयात्रा गरिन्छ । पुरानो इतिहास बोकेको उक्त ठाउँको प्रचार गरी पर्यटन विकास गर्न सकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने स्वर्गाश्रम युवा क्लबका सचिव जीतबहादुर घर्तीले बताए ।

यस क्षेत्रको प्रचारप्रसारसँगै पदमार्ग, आश्रमस्थललाई थप व्यवस्थित गर्ने, मन्दिर निर्माण गर्ने र ध्यान एवं तपस्या गर्ने व्यवस्थित थलो बनाउने योजनालाई बजेटका लागि पहल गरिरहेको युवा क्लबका सल्लाहकारसमेत रहेका छन्त्यालले बताए ।

स्थानीयले स्वर्गाश्रमदेखि करीब एक घण्टाको पैदल दूरीमा रहेको बेलढुङ्गा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अग्रसरता देखाएका छन् । भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरका रुपमा रहेको बेलढुङ्गालाई प्रचारप्रसार, पदमार्ग लगायतका पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने स्थानीयको योजना छ । रासस