बैतडी– सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् ।


ADVERTISEMENT


औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला परेकामा गत आवमा २५ जनामा र चालू आवको तीन महीनामा ११ बिरामी फेला परेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले औलोका बिरामी घट्दै गएको उक्त कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डे्यले जानकारी दिए । उनले भने, “गाउँमै गएर औलोको पहिचान र उपचार गर्न थालेपछि रोग कम हुँदै गएको हो ।” औलो प्रभावित क्षेत्रमा उक्त कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा औषधि, स्प्रे र गर्भवतीलाई झुल वितरण गरेको थियो । सरकारले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्ने लक्ष्य लिएकाले सोहीअनुसारका कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।

रोग पहिचान र उपचार शुरु

औलो प्रभावित तल्लोस्वराड र शिवनाथ गाउँपालिका–१ र ३ मा औलोको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको छ । यसअघि पनि सो ठाउँमा औलोका बिरामी फेला परेकाले पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहायक दयालले जानकारी दिए ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्षदेखि नै तल्लोसोराड क्षेत्रमा औलोको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको हो । एनोफिलिस नामको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले यसको रोकथामका लागि वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने, सुत्दाखेरी झुल हालेर सुत्नु पर्नेलगायतका सुझाव स्वास्थ्यकर्मीले दिएका छन् । औलो प्रभावित क्षेत्रका गर्भवतीलाई झुल वितरण गर्ने कार्यक्रमसमेत सँगसँगै चलिरहेको उक्त कार्यालयले जनाएको छ । सन् २०२५ भित्र नेपालमा औलो उन्मूलन गर्ने सरकारको लक्ष्य छ ।