काठमाडौं– मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।


ADVERTISEMENT


नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने खेलमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।


ADVERTISEMENT

# # #


उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन् ।

अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन् । जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ । तर नेपाल भन्दा कमजोर हो । पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ ।

यस्तो छ नेपाल र सिंगापुरको खेल
नेपालले सिंगापुरसँग टी–२० क्रिकेटमा २ पटक खेलेको छ। दुबै खेलमा नेपाल विजयी भएको छ। टी–२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान पनि सिंगापुरबीरुद्धनै छ।

सन् २०१३ मा काठमाडौंमा भएको एसीसी टि–२० कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो। उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो ।

त्यो खेल खेल्नेमध्ये अहिले सुबास खकुरेल, पृथ्वु बाँस्कोटा, चन्द्र साउद, शक्ति गौचनबाहेक सबै खेलाडी छन् । यस्तै सन् २००९ मा सारजाहमा भएको एसिसि टि–२० कपको पाँचौ स्थानको प्ले अफमा पनि सिंगापुरलाई ९ विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा नेपालले ५ खेलमा ५ मा नै फराकिलो अन्तरको जित निकालेको छ । म्यानमार र मलेसियालाई समान ८–८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटानमाथि १ सय १७ रनको जित निकाल्दा चीनलाई १० विकेटले पराजित गरेको थियो ।प्रतियोगिताभर बलिङमा हाबी भईराखेको नेपालले आफ्नो क्षमता अनुसारको ब्याटिङ भने गर्न सकिरहेको छैन । नेपालका युवा स्पिनर सन्दिप लामिछानेले जारी प्रतियोगितामा २० विकेट लिइसकेका छन् । यदि आजको खेलमा पनि उनले २ वा सो भन्दा बढी विकेट लिए भने उनी एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्नेछन् ।