काठमाडौँ– मलेसियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटको अन्तिम खेलमामा नेपालले ८२ रनको लक्ष्य पाएको छ ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन सर्वाधिक २५ रन बनाए । सो क्रममा उनले ३ चौका प्रहार गरेका थिए । यस्तै मनप्रित सिंह तथा सिद्धान्तले समान १०/१० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । ३.३ ओभरमा उनले १६ रन खर्चिए । यस्तै करण केसी र सोमपाल कामीले समान २/२ विकेट लिए भने वसन्त रेग्मी र ललित राजवंशीले पनि १/१ विकेट हात पारे ।

तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ ।

समान १० अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । यसअघिका सबै खेलमा नेपालले जितका लागि संघर्ष गर्नुपरेको छैन । सात टोली सम्मिलित एसियाको पूर्वी क्षेत्रबाट नेपाल र सिंगापुरले अघिल्लो चरणमा स्थान बनाइसकेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटको नतिजामा पराजित गरेको थियो भने भने चीनलाई १० विकेटले हराएको थियो । थाइल्यान्डमाथि १ सय ७२ रनले विजय निकालेको नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो ।