जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताएका छन् ।


ADVERTISEMENT


दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।”


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्नु हुँदैन भने।

कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उहाँले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताए ।

अध्यक्ष दाहालले काठमाडौँको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुन सक्छ भने ।

उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उनले भने, “प्रदेश नं २ को सुनको टुक्रा झैँ मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।”

सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रदेश र सङ्घीय सरकारले एकअर्कालाई गाली होइन, पूरक भई कार्य सञ्चालन गर्नु अहिलेको आवश्यकता हो भन्दै शत्रुका रूपमा रहेको गरीबी, पछौटेपन, विभेद, उत्पीडनविरूद्ध दुवै सरकारले मिलेर परास्त गर्नुपर्ने खाँचो औँल्याए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकार सम्पूर्ण कुरा सिंहदरबारभित्र नै सीमित राखेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश प्रहरी ऐन ल्याउँदा पनि अन्यमनस्कको अवस्थामा रहेको बताए।

सङ्घीय शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यक्तिअनुसार होइन, पद्धतिअनुसार कार्यसम्पादन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठले वर्तमान सरकार मधेशमैत्री सरकार भएको उल्लेख गर्दै सुनकोशी–कमला सिँचाइ परियोजनाको शिलान्यास छिट्टै हुन गइरहेको जानकारी दिए ।

प्रदेश नं २ प्रदेशसभा नेपाली काङ्गेस संसदीय दलका नेता रामसरोज यादवले सपनाको कुरा होइन, सपनालाई साकार तुल्याउने कार्यतर्फ ध्यान जानु जरूरी छ भने ।

नेकपा प्रदेश नं २ का संयोजक प्रभु साहको अध्यक्षतामा भएको सो समारोहमा इञ्चार्ज सत्यनारायण मण्डल र सांसद जुली महतोले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक तुल्याउने भूमिकामाथि जोड दिए ।