बेँसीशहर– मासिन लागेको आँपको बगैँचा संरक्षणमा राइनास नगरपालिका–३ टिमुरेका युवा लागेका छन् । टिमुरे गाउँका पन्थी बाजे र धर्म सार्कीलगायतले २०० वर्षअघि स्थानीय प्रजातिका आँपका बिरुवा रोपेकामा यसको संरक्षणमा जुटेको आँप बगैँचा संरक्षण समितिका अध्यक्ष विष्णु पन्थीले बताएका छन् ।


ADVERTISEMENT


स्थानीयवासीका अनुसार हाल उक्त बगैँचामा १८ प्रजातिका १८ वटै आँपका पुराना बोट छन् । उनीहरूले बगैँचामा रहेको जुरेली, कटरे, कर्कले, सिन्दूरे, सानो लहरे, ठूलो लहरे, जगते, काली, बम्बै, गनाउने, उपल्लो मिठाई, तल्लो मिठाई, रातो टाउके, सेतो, सुपारे, कर्तविडे, मोइ, र हाडे गरी १८ जातका आँपका बोट पहिचान गरी तिनको नाम र चारित्रिक गुणसमेत बोटमा टाँसेका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय रैथाने जातको आँपका बीउ लोप हुने अवस्थामा पुगेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल कृषि अनुवांशिक स्रोत केन्द्र जिन बैंक ले पनि यसको संरक्षणमा चासो दिएको छ । अठारवटै आँपका बोटको प्रोफाइल तयार पारिने जिन बैंकले जनाएको छ । आँपको बगैँचा संरक्षणका लागि स्थानीय युवाको सक्रियतामा १३ सदस्यीय कार्यसमिति गठन गरी संरक्षण कार्य शुरु गरिएको हो ।

चेपे–मस्र्याङ्दी सामुदायिक विकास बीउ बैंकले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकामा गरी ४५ वटा बालीका ३७५ जात संरक्षण गर्दै आएको बैकका अध्यक्ष मोहन हमालले बताएका छन् । लुथरन वल्र्ड रिलिफ र जिन बैंकको सहयोगमा जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति (कोपाडेस) ले बीउ बैंक स्थापना गरेको उक्त संस्थाका अध्यक्ष डिकेन्द्रराज कँडेलले बताएका छन् । जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत दुई वर्षदेखि स्थानीय बाली तथा फलफूलका बीउ संरक्षणका कार्यक्रम गरिँदै आइएकामा पुराना आँपका वगैँचा हराउँदै गएको समयमा यसको पनि संरक्षण अभियान थालिएको उनले उल्लेख गरेका छन् ।

रैथाने आँपको बोट संरक्षणका लागि नार्कले स्थानीय युवालाई तालीम दिएको छ । नार्कका प्रमुख वरिष्ठ वैज्ञानिक डा बालकृष्ण जोशी, जिन बैंकका वरिष्ठ वैज्ञानिक दीपा सिंह, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराका वरिष्ठ वैज्ञानिक डा टेकप्रसाद गोतामेलगायतले स्थानीयवासीलाई रैथाने आँपको बोट संरक्षण र संवद्र्धनका लागि तालीम दिएका थिए ।

नेपालमै पहिलो पटक रैथाने आँप जोगाउने अभियानको थालनी भएको वरिष्ठ वैज्ञानिक सिंहले बताएका छन् । यो अभियान सफल भएमा नार्क र जिन बैंकको एउटा नयाँ काम हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी संस्था र स्थानीयवासी एकजुट हुन आवश्यक भएको छ, उनले भने । रासस