काठमाडौं– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणको शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।
गृहमन्त्रालयले बिहिबार कञ्चनपु्रका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले पानीमाथिको ओभानो बन्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


‘निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।


ADVERTISEMENT

# # #


‘बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’

उनले घटनामा जोडिएकी भनिएकी रोशनी बम र बबिता बमलाई गम्भीर केरकार र अनुसन्धान नगरी छाडा छाड्ने काम भएको पनि आरोप लगाएका छन् । पन्त १० साउनमा बम दिदीबहिनीकै घरमा गएको बखत सो घटना घट्न पुगेको थियो ।

यो काण्डमा शक्तिशालीहरू मुछिएका र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागिपरेको आरोप लगाउँदै भट्टराईले निर्मलालाई न्यायकोनिम्ति आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।