काठमाडौँ–  धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ३४ विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ ।


ADVERTISEMENT


प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ विन्दुले घटेर २५६ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरीद–बिक्री भएको छ ।


ADVERTISEMENT

# # #


स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोवार ४ दशमलव २३ विन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत् ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बीमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बीमा ९८ दशमलव ९७ विन्दुले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुङ्गा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् ।