काठमाडौं – सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एनआईसी एशिया बैंकबीच बैंकिङ साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


बैंकले सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वित्तीय क्षमता विकास गर्ने उद्देश्य सहित उक्त संस्थासँग सम्झौता गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपालको तर्फबाट अध्यक्ष नारायण ज्ञवाली र एनआईसी एशिया बैंकको तर्फवाट बैंकका सीईओ रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झैता बमोजिम एनआईसी एशिया बैंकले आफ्ना २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउँने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय अनि उद्योगमा लगानी गर्ने भएको छ ।

समुदायको बैकिंङ् शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, यस सम्झौताबाट ग्रामीण विद्युतीकरणको विकास , रोजगार तथा उद्यमशीलताको विकास तीव्र रुपमा हुने समेत विश्वास गरिएको छ ।

नेपाल सरकारको आगामी तीन वर्षभित्र आधारभूत रुपमा सवै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्ष भित्रमा चाहेजति विद्युत उपलव्ध गराउँने भन्ने नीति रहेको छ ।

नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २८२ सामुदायिक संस्थामार्फत ५,००,००० घर परिवारका २० लाख उपभोक्तामा विद्युतको विस्तार भएको छ ।

सामुदायिक विद्युतीकरण शुरु भएको १४ वर्षको अवधिमा सहभागिता वापत समुदायबाट नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणमा जम्मा भईसकेको छ ।