काठमाडौँ– बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT


स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरेका थिए । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो ।


ADVERTISEMENT

# # #


विसं १९९७ मा काठमाडौँमा जन्मिएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो ।

तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएका छन् ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी, नेकपाका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा स्व तुलाधरप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

त्यस्तै नेपाली काङ्ग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, बामनेत्री हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्व तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गरेका थिए

त्यस्तै संस्कृतिविद् डा चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो ।

त्यस अवसरमा नेपाल भाषाका अगुवा पद्मरत्न तुलाधर अमर रहून् भनी नारा लगाइएको थियो ।

नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरप्रति राष्ट्रिय सम्मान प्रकट गर्न नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पण गरिएको बताए ।

हास्यव्यङ्ग्य साहित्यमा पद्मरत्न

नेपाल संवत् १०९७ मा नाटककार पद्मरत्न तुलाधरको ‘आः जितः नं तनतन दयावल’ (अब मलाई पनि अलिअलि दया आयो) नामक ख्यालः जनसमक्ष आएको थियो ।

नेपाल संवत् १०८० मा ‘न्हुम्ह जिचा भाजु ससलय्’ (नयाँ ज्वाइँ ससुरालीमा), नेपाल संवत् ११०४ मा ‘ख्याः बछि नी बछि’ (आधी ठट्टा, आधी साँचो) तथा नेपाल संवत् ११३५ मा ‘जिँ लातकि…’ (मैले भेट्टाएँ कि…)नामक तुलाधरको ख्यालः प्रकाशनमा आयो । नाटककार तुलाधरको ‘आः जितः नं तनतन दयावल’ नामक नाटकमा आठ ख्याल छन् भने ‘ख्याः बछि नी बछि’ मा पाँच ख्याल तथा ‘जिँ लातकि।।।’ मा १७ ख्याल छन् ।

नेपाल संवत् १०९५ मा पहिलो पटक सङ्कलित ख्यालः मुना ‘आः जित नं तनतन दयावल’ मा ‘ह्वाइट मार्केट‘ नेपाल भाषा ख्यालः धेँधेँ बल्ला कासा (नाटक प्रतिस्पर्धा) मा प्रथम भएको हो । त्यस्तै तुलाधरको ‘खरदारया छेँ बजेट भाषण’ (खरिदारको घरमा बजेट भाषण), ‘वा वल फय् बल’ (पानी पर्यो हुरी चल्यो), ‘ह्येँ थकाली कि खेँ थकाली’ (हाँस जेठो कि अण्डा जेठो) चर्चित ख्यालः हुन् ।

ख्याः बच्छी निःबच्छि नामक दोस्रो पुस्तकमा ‘किसिया व्यापार’ (हात्तीको व्यापार), जागिर चबुम्ह मनू ९जागिरबाट खोसिएको मानिस० आदि गरी पाँच ख्यालः छन् ।

नेपाल संवत् ११०६ मा प्रकाशित ‘राशिफल’ तथा नेपाल संवत् ११०७ मा प्रकाशित ‘डा नवरसानन्द ख्यालः’मा भ्रष्ट नेतालाई व्यङ्ग्य गरिएको छ । त्यस्तै नेपाल संवत् ११०७ मा प्रकाशित ‘घुस नय्य हे मखु’ (घुस खाँदै खाँदैनौँ) ख्यालःमा घुसखोरीका बीचमा इमान्दार मानिस ‘जोकर’ भएर बाँच्नुपर्ने अवस्थाको वर्णन गरिएको छ ।

दुई छोरा र दुई छोरीका पिता तुलाधर २०३६ सालमा मंकाः खलको अध्यक्ष भई नेपाल भाषा आन्दोलनको नेतृत्व गरेका थिए । बहुदलीय व्यवस्थाको माग गर्दै निर्वाचनमा होमिएका तुलाधर २०४३ सालमा जनपक्षीय रापस, २०४८ मा प्रतिनिधिसभा सदस्य तथा २०५१ सालमा सांसदमा निर्वाचित भई स्वास्थ्यमन्त्री बनेका थिए।

२०५८ सालमा सरकार माओवादी शान्तिवार्ताका सहजकर्ता तथा विसं २०७२ मा आदिवासी जनजाति आन्दोलनको अध्यक्ष भई नेतृत्व प्रदान गर्नाका साथै लामो समय मानवअधिकार आन्दोलनको पनि नेतृत्व गरेका थिए ।