चिप्लेढुङ्गा–  पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६:३० बजे लिन जाँदा नभेटिएपछि ट्याक्सीधनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट्याक्सी दुर्घटनापछि मात्रै हराएको र ट्याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो ।
आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको ट्याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेल (सुवास) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ । ग १ ज ५४३ नं को ट्याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो ।
ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ । उनले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीले त्यसबारेमा ट्याक्सी धनी जिरो किलोमिटरका प्रेमबहादुर गुरुङमाथि थप अनुसन्धान भइरहेको बताए ।