झापा– सरकारले निःशुल्क उपलब्ध गराउने भनेको मिर्गौैला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा अब बिर्तामोडमा रहेको पूर्ण–टुङ्क बिर्ता सिटी हस्पिटलबाट प्रारम्भ गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालय र हस्पिटलबीच सम्झौता भएसँगै सो सेवा सोमबारदेखि निःशुल्क उपलब्ध गराउन सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार बस्नेतले बताए । विसं २०७१ देखि अस्पतालले पूर्वमा पहिलो पटक निजी क्षेत्रबाट मिर्गौला रोगीका लागि हेमोडायलासिस सेवा प्रदान गर्दैआएको थियो । तीन यन्त्र राखेर अस्पतालले दैनिक १०–१२ मिर्गौला रोगीको हेमोडायलासिस गर्दै आएको छ । हाल ४५ जनाले हप्तामा दुईदेखि तीन पटकसम्म सो सेवा लिइरहेको डा बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


झापामा दिन प्रतिदिन मिर्गौला रोगीको सङ्ख्या थपिँदै गएको र २० देखि ३० वर्ष उमेर समूहका पाँच–छ जनाले नियमित हेमोडायलासिस गर्दै आएको छ । “मधुमेह र रक्तचापका रोगीमा मिर्गौला छिट्टै बिग्रने समस्या देखिएको छ”, डा बस्नेतले भने–“नेपालको कुल जनसङ्ख्याको ९ प्रतिशत मानिसमा यो समस्या छ, विशेषगरी खानपानमा ध्यान नदिँदा मिर्गौला चाँडै बिग्रन्छ ।”
अस्पतालमा बिरामीको चाप बढेको र सेवालाई थप प्रभावकारी बनाउन केही दिनभित्रै अस्पतालले अर्को पनि यन्त्र सञ्चालनमा ल्याउन लागेको डा बस्नेतले जानकारी दिए। झापामा यसअघि मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा भद्रपुरमा रहेको ओमसाई पाथीभरा अस्पतालले उपलब्ध गराउँदै आएको छ ।