काठमाडौँ– मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ ।


ADVERTISEMENT


विसं २०३० असार ३० गते आगलागी हुँदा सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा क्षति पुगेको थियो । तत्कालीन राजा वीरेन्द्रले बम विष्फोट गर्न लगाई पश्चिम भाग बचाइएको थियो । तीन वर्ष अघिको भूकम्पले दरबारका चारै भागमा क्षति पुग्यो । दरबारको उत्तर, पूर्व र दक्षिण गरी तीन भागको प्रबलीकरण शुरु भएको छ महीना पुगेपछि बल्ल पश्चिम भाग पनि प्रबलीकरण गर्न सकिने टुङ्गो लागेको छ ।


ADVERTISEMENT

# # #


‘न्यू क्लासिकल ब्रिटिश’ शैलीमा बनेको सिंहदरबारमा चार तला छ । आगलागी अघि सात चोक रहेकामा पुनःनिर्माण हुँदा एउटा चोकमात्र राखिएको थियो । शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण शुुरु गरेको छ महीना पुगेको छ । प्रबलीकरणका लागि गत जेठ २० गते सम्झौता भई केही दिनमै काम शुरु भएको हो । प्रबलीकरण भइरहेको दरबारमा प्राधिकरणकै कार्यालय छ ।

भूकम्पअघि राखिएका कार्यालयका सामग्री पनि कोठामा थुनिएकाले काममा समस्या भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले जनाएको छ । तीन भागलाई भित्रबाट छड राखी ‘जाकेटिङ’ गरिने केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले राससलाई जानकारी दिए । बाहिरी भागमा मौलिक बुट्टा कुँदिएकाले पहिलेकै अवस्थामा छोडिने छ ।

सिंहदरबारको पश्चिम भागलाई पनि प्रबलीकरण गर्न सकिने प्रारम्भिक प्रतिवेदन आएपनि थप के के गर्ने भन्नेबारे अध्ययन जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भन्ने तीन वर्षसम्म अस्पष्ट थियो । त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए ।

परामर्शदाता कम्पनीले २० दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने उनले सुनाए । पश्चिमी भाग बनाउन कति लागत लाग्छ भन्ने विषयमा हाल कम्पनीले अध्ययन जारी राखेको जनाइएको छ । विस्तृत प्रतिवेदन आएपछि प्रबलीकरणका लागि टेण्डर आह्वान लगायत काम शुरु हुने प्राधिकरणले जनाएको छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनःनिर्माण गरियो ।

उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणका लागि रु २१ करोड ४९ लाख ६८ हजार ०५३ को लागतमा सम्झौता भई काम शुरु भएको हो । प्रबलीकरण २०७६ कात्तिक १९ गतेसम्म सम्पन्न गर्ने निर्माण व्यवसायीसँग सम्झौता भएको छ । –पूर्णप्रसाद मिश्र/रासस