दमौली– सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएक छन् ।


ADVERTISEMENT


नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्दै यो राष्ट्रियतासँग पनि जोडिने बताए । उनले भने, “संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कर्तव्य हो ।” महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पुर्याउनुपर्नेमा जोड दिँदै संस्कृतिको पहिचान र प्रसार गर्न नसके लोप हुने खतरा रहेको औँल्याए ।

कानून निर्माणमा तीव्रता दिइने 

सभामुख महराले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानून निर्माणमा ढिलाइ भएको बताए । छिटोभन्दा छिटो विधेयक ल्याउन सरकारलाई आग्रह गर्दै सभामुख महराले आवश्यक कानून निर्माणमा संसद्ले तीव्रता दिने बताए।

देशमा तीन तहको सरकारबीच अधिकार बाँडफाँटमा अन्तरविरोध रहेको चर्चा गर्दै सभामुख महराले यसको समाधान हुन केही वर्ष लाग्न सक्ने बताए । उनले भने, “देशमा पहिलोपटक सङ्घीयता लागू भएको छ । स्रोत र अधिकारको विषयमा भएको विरोध समाधान हुन केही वर्ष लाग्न सक्छ ।” सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिए ।

महोत्सवको नाफाबाट महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्ने र आदिवासी जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । महासङ्घले गत वर्षको महोत्सवको नाफाबाट व्यास–१ करङकाठमा कार्यालय भवन निर्माण गरिरहेको छ । महासङ्घले व्यास–१२ कमलाबारीमा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गासमेत खरीद गरिसकेको छ ।