– प्रकाश अधिकारी

सुर्खेत– बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लू त्यही राज्यको हिउँदे राजधानी । जुम्लामा हिउँ पर्न थालेपछि दुल्लूमा हिउँदे राजधानी बस्थ्यो । यहाँबाटै विशाल जुम्ला राज्यको प्रशासन चल्थ्यो । राजा, राज्य सञ्चालक र तिनका परिवारहरु जाडो छल्न दुल्लू मै बस्थे । कुनै बेलाको शक्तिशाली दुल्लू पछिल्ला राज्य व्यवस्थामा भने ओझेलमा पर्यो । पछिल्लो समय सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन दबाबस्वरुप विद्रोह गरेर चर्चामा आयो, दुल्लू ।


ADVERTISEMENT


# # #


इतिहास, मौलिक कला–संस्कृति, पुरातात्विक र धार्मिक सम्पदाले धनी दुल्लू यतिबेला पर्यटन विकासको अभियानमा जुटेको छ । “पर्यटनबाटै नगरको समृद्धि सम्भव देखेका छौं,” नगर प्रमुख घनश्याम भण्डारी भन्छन् – “हाम्रो आम्दानीको स्रोत यहाँका पर्यटकीय सम्पदा नै हुन् । अथाह मूर्त÷अमूर्त साँस्कृतिक सम्पदा छन् ।” पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र स्थानीय कला संस्कृतिको जर्गेना गर्न नगरले गुरुयोजना नै बनाएको छ ।

नेपालकै चर्चित ज्वाला क्षेत्र दुल्लू क्षेत्रमा छ । मुलुकका एकसय पर्यटकीय गन्तव्यमध्ये सरकारले यसपटक पञ्चकोशी ज्वाला क्षेत्रलाई पनि समावेश गरेको छ । पञ्चकोशीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने यहाँका बासिन्दाको वर्षौं पुरानो माग थियो जुन यसपटक पूरा भएको छ । यहाँ सदियौंदेखि प्रज्वलित ज्वालाहरु, नेपाली (खस) भाषाको सबैभन्दा पुरानो शिलालेख, गढी, प्राचीन दरबार (हाल भग्नावशेष), हिन्दु र बौद्ध धर्मावलम्बीको सहिष्णुताको प्रतीक पादुकास्थान, कलात्मक देवल, धर्मगद्दी, पात्थरनाउली, बालेश्वर मन्दिरलगायतका सम्पदाहरु छन् । “विगतमा दुल्लू जे–जति कारण पछाडि परे पनि अब हामी पर्यटनलाई मूल आधार बनाएर योजनाबद्ध विकासको खाका कोर्दैछौं,” नगर प्रमुख भण्डारी भने – “ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र धार्मिक सम्पदाको प्रर्वद्धन, व्यवस्थापन तथा पूर्वाधार विकासमै केन्द्रित भएका छौं ।”

दुल्लूलाई प्राचीन खस साम्राज्यको चिनारीका रुपमा लिन सकिन्छ । दुल्लू राज्यका काजी जसपाउ थापाका पालामा बनेको दुईसय वर्ष पुरानो पौवाघरमा नगरपालिकाले सङ्ग्रहालय स्थापना गरेको छ । पञ्चकोशी दर्शन गर्न आउने पर्यटकहरुको रोजाइमा सङ्ग्रहालय थपिएको छ । सङ्ग्रहालयमा २५० वर्ष पुरानो काठको बुट्टावाला गाता भएको हस्तलिखित स्वस्थानी किताब राखिएको छ । स्वस्थानी किताब कटुसको पातलाई पकाएर निगालोको कलमबाट लेखिएको हो । दुल्लू–७ काठेबडीका होमप्रसाद उपाध्यायको घरमा रहेको ऐतिहासिक स्वस्थानी सङ्ग्रहालयको मुख्य आर्कषण मानिन्छ । ढुङ्गाको कचौरा, ढुङ्गाको कोल, तत्कालीन राजा÷सैनिकले प्रयोग गर्ने तरबारहरु, त्यतिबेलाका महिलाहरुले प्रयोग गर्ने गहनाहरु, बाजालगायत १५७ ऐतिहासिक वस्तुहरु यहाँ सङ्गृहित छन् ।

सङ्ग्रहालय स्थापना हुनुअघि २५० वर्गमिटरमा क्षेत्रफलमा रहेको पौवाघर संरक्षणविहीन थियो । नगर प्रमुख घनश्याम भण्डारीले ‘साँस्कृतिक सङ्ग्रहालय सञ्चालन ऐन’ ल्याएर ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा जुटेको बताए। “दुल्लूको मुख्य सम्पत्ति नै इतिहास हो, रैथाने कला–संस्कृति हो,” उनले भने – “त्यही भएर अन्य ऐन ल्याउनुभन्दा अघि साँस्कृतिक सङ्ग्रहालयसम्बन्धी ऐन ल्यायौं ।”

सङ्ग्रहालयबाट राम्रो आम्दानी गर्न सकिने नगरको अपेक्षा छ । नगर उपप्रमुख विष्णा थापाले सङ्ग्रहालयबाट पछिल्लो पुस्तालाई इतिहास, लोक कला–संस्कृति जर्गेनामा जागरुक गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नगरभित्र अवस्थित विभिन्न ऐतिहासिक सम्पदाको संरक्षण र बजारीकरणलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् । नगरपालिकाका अनुसार कीर्तिखम्बको संरक्षणका लागि दामु–कीर्तिपार्क निर्माणका अतिरिक्त नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेखको संरक्षण गरिएको छ ।

शिरस्थान, नाभिस्थान, कोटिला, पादुका र धुलेश्वरलाई पञ्चकोशी तीर्थस्थल भन्ने गरिन्छ । सत्ययुगमा महादेवले पत्नी सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा कोख पतन भई कोटिला, शिर पतन भई शिरस्थान, नाभि पतन भई नाभिस्थान, पाउ पतन भई पादुका र बा“की अंश पतन भई धुलेश्वर रहन गएको स्वस्थानी व्रतकथा र बैस्णानेश्वर पुराणमा उल्लेख छ । पञ्चकोशी तीर्थयात्रा पूरा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

शिरस्थान र नाभिस्थानमा पानीमाथि निरन्तर प्रज्वलित ज्वाला दर्शन गर्न सकिन्छ । ढेड सय वर्ष पुरानो स्वामीको रुखले नाभिस्थानलाई अझ मनमोहक बनाएको छ । धुलेश्वर मन्दिरमा महादेव पार्वती र राधा कृष्णको प्रशन्न मुद्राको मूर्तिहरु छन् । यो नेपालको एक मात्र ज्वालामुखी चिन्ह भएको स्थान हो । हिन्दुको पवित्र तीर्थस्थल भए पनि पादुका मन्दिरमा बौद्ध विहारका अवशेषहरु भेटिन्छन् । पादुका मन्दिरमा पश्चिम नेपालका तत्कालीन शक्तिशाली शासक अशोक चल्लको पालाको २ मिटर अग्लो ४५ सेन्टिमिटर फराकिलो ढुङ्गाको स्तम्भमा एशियाकै दुर्लभ बुद्ध र चारहाते गणेशका मूर्ति छन् ।

दुल्लू क्षेत्रका सबै पर्यटकीय स्थलहरुसम्म पुग्ने मोटरबाटो छ । प्राथमिकताका आधारमा क्रमशः सडक कालोपत्र गर्दै जाने नगरको योजना छ । प्रदेश सांसद सुशील थापा दुल्लू कर्णाली प्रदेशकै आर्कषक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्छन् । “प्रदेश सरकारले यहाँको पर्यटन पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ,” उनले भने । पूर्वाधारमार्फत पर्यटनलाई उद्योगका रुपमा विकास गर्ने सांसद थापाको प्रतिवद्धता छ ।

यहाँका पर्यटकीय स्थलहरुमा पर्यटकको अभिलेख राख्न शुरु गरिएको छ । सुझावसहितको पर्यटकको विस्तृत विवरणले पर्यटन क्षेत्रको योजना निर्माणमा थप मद्दत पुग्ने विश्वास गरिन्छ । पञ्चकोशी नाभिस्थान क्षेत्र विकास समितिका अध्यक्ष नवीन योगीले नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतका पर्यटकहरु उल्लेख्य सङ्ख्यामा आउने गरेको बताए। “पञ्चकोशी ज्वाला क्षेत्र धार्मिक पर्यटनको उपयुक्त गन्तव्य हो,” उनले भने – “त्यही भएर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकहरुको ओइरो नै लाग्ने गर्छ ।” पर्यटकहरुबाट सङ्कलित दान, भेटीको दुरुपयोग हुन नदिन पारदर्शी रुपमा अभिलेख राख्नाका साथै उक्त रकमलाई सम्बन्धित स्थलको विकासकै लागि खर्च गर्ने गरिएको अध्यक्ष योगीले जानकारी दिए ।

दरबार भग्नावशेषमा परिणत

खस राज्यको चिनो दुल्लू दरबार तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा क्षतिग्रस्त भयो । विष्फोटबाट पूरै ध्वस्त दरबारको हाल भग्नावशेष मात्र बा“की छ । विष्फोटबाट दरबारका साथै त्यहा“ रहेका ११ वटा झारी कलश, भगवतीको मूर्ति, जहात, ३६ तोला सुन र चाँदीको आशागुर्जा, खुकुरी र तरबार, क्रस ढाल जलेर पूर्ण नष्ट भएको स्थानीयवासीको दाबी छ । दरबार ५२ वटा झ्याल ढोका भएको छानो शैलीको थियो ।

दुल्लूका अन्तिम राजा जंगबहादुर शाहका कान्छो भाइ डम्बरबहादुर शाहले बजिरिस्तानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट विसं १९८४ सालमा दरबार पुनःनिर्माण गरेको बूढापाकाहरु बताउँछन् । स्थानीयवासी भूपालविक्रम शाहले राज्य रजौटा उन्मूलन ऐन लागू भैसकेपछि खस जातिका लागि जिउँदो इतिहास बन्दैआएको यो दरबार भग्नावशेषमा परिणत हुनु दुःखद् भएको बताए । व्यक्तिका नाउँमा रहेको दरबारको जग्गालाई सरकारीकरण गरेर पुरानै शैलीमा पुनःनिर्माण गर्नुपर्ने उनको सुझाव छ । उक्त दरबार शाह परिवारका ११ जना व्यक्तिका नाउँमा रहेको छ ।

रासस

प्रतिकृया

प्रतिकृया