एजेन्सी – बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह इटालीमा बिहे सकेर भारत फर्किएका छन्। बुधबार इटालीको कोमो तालको भिलामा उनीहरूको बिहे भएको हो।


ADVERTISEMENT


बिहे सकेर यो जोडी आइतबार भारत फर्किएको छ। उनीहरूको जोडीलाई बधाइको ओइरोसँगै ‘दीप–वीर’ भनेर बोलाउन थालिएको छ। दीपिका र रणवीरले पहिले मुम्बइ एअरपोर्टमा र पछि आफ्नो अपार्टमेन्टबाटै प्रशंसकहरूलाई अभिवादन गरेका छन्। अभिवादन क्रममा उनीहरूले फोटा पनि खिचाएका छन्।


ADVERTISEMENT

# # #


उनीहरूको बिहेमा थोरै मात्र आमन्त्रित भएको र सञ्चारमाध्यमबाट टाढै राखिएकाले फ्यानहरू यो जोडीलाई देख्न उत्सुक थिए। दीपिकाले बिहेका फोटा पहिलोपटक सामाजिक सञ्जालमा राख्दा बधाइ दिनेहरूको लर्को नै थियो।

प्रशंसकको यो प्रतीक्षा मेट्दै आइतबार मुम्बइ आइपुगेका दीप–वीरको नयाँ बेहुला बेहुली रुपको सञ्चारमाध्यमहरूले खुबै प्रशंसा गरिरहेका छन्। एअरपोर्टमा दीपिका र रणवीर एकै रङको लुगामा देखिएका छन्। रणवीरले घ्यू रङको कुर्तासुरुवालमाथि गुलाबी रङको बुट्टादार इस्टकोट लगाएका छन्।

सँगै दीपिकाले पनि घ्यू रङकै लामो कुर्तासुरुवाला लगाएकी छन्। यसमाथि उनले रातो बुट्टादार बनारसी दोपट्टा ओढेकी छन्। हातमा राता चुरा र कानमा ठूला झुम्काले उनको नयाँ बेहुली रुप झल्काएको छ। प्रस्ट देखिने मोटो सिन्दूरको धर्सोले उनलाई खाटी भारतीय बेहुलीको रुप दिएको छ।

दीपिकाको ‘गृहप्रवेश लुक’ लाई प्रशंसकहरूले खुबै मनपराएको सञ्चारमाध्यमहरूले लेखेका छन्। रणवीर-दीपिका छ वर्षअघि फिल्म रामलीला गर्ने क्रममा नजिकिएका थिए।

अब नोभेम्बर २१ मा दीपिकाको गृहजिल्ला बैंगलरुमा रिसेप्सन पार्टी दिने पनि सञ्चारमाध्यमले जनाएका छन्। बलिउडका लागि भने २८ नोभेम्बरमा पार्टी राखिएको छ।