– कुसुम भट्टराई


ADVERTISEMENT


मदन भण्डारीले साइकल चढेको तस्वीर यतिबेला भाइरल हुनुको एउटौ कारण के हो भने जनता मदनजस्ता नेता मन पराउँछन् । जनतालाई १८ करोडको विलासी गाडी चढने नेता पटक्कै मन पर्दैन रहेछ ।


ADVERTISEMENT

# # #


यो पंक्तिकारलाई एउटा घटनाको सम्झना हुन्छ । २०४७ सालमा काठमाडौको परोपकार स्कुलनेर प्रजातान्त्रिक राष्ट्रिय युवा संघले आयोजना गरेको एउटा कार्यक्रममा पहिलोपटक नेकपा मालेका महासचिव भूमिगत जीवनबाट खुला हुँदैथिए ।

हामी पुगेको केहीबेरमै मालेका तात्कालीन प्रवक्ता मदन भण्डारी साइकल चढेर कार्यक्रममा आए । आखिर, सामान्य सर्ट, पाइन्ट र कालो टोपी लगाएका प्रवक्ता भण्डारी नै मालेका महासचिव रहेछन् । झलनाथ खनाललगायतका नेताहरु त्यतिबेलै सुटेट बुटेड र चिल्ला चाप्ला देखिन्थे, तर भण्डारीमा भने सादगीपन थियो ।

२०४९ सालतिर ‘नेपाल आवाज’का लागि मदन भण्डारीको अन्तर्वार्ता लिन पत्रकार दाजु जिवेन्द्र सिम्खडा र यो पंक्तिकार नक्सालस्थित भण्डारी निवासमा गएका थियौं । त्यतिबेलासम्म भण्डारीको राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती चुलीइसकेको थियो । भण्डारीकै बारेमा न्यूजविकले ‘जहाँ कार्लमाक्र्स जिवतै छन्’ भन्ने लेख प्रकाशित गरिसकेको थियो । उनको पार्टीले ६९ स्थानमा जितेको थियो र प्रमुख प्रतिपक्षीका रुपमा विरोध र आन्दोलनका कार्यक्रम चलाइरहेको थियो ।

चर्चित नेताको डेरामा जाँदा हामी चकित परेका थियौं । नक्सालको एउटा सामान्य पुरानो घर, एकतलामाथि दुइ तीनवटा साँघुरा कोठामा उनी बस्थे । बेतका केही पुराना कुर्ची । एउटा १४ इन्चको ब्ल्याक एन्ड हवाइट टिभी । न त त्यहाँ कुनै भडकिलो सोफा थियो, न डेढ दुइ लाख पर्ने पलङ । सामान्य काठको दराजमा माक्र्स, लेनिन र माओका पुस्तक देखिन्थे । मदन र उनकी जिवनसंगीनी विद्या भण्डारीको लवाई खवाई बडो सामान्य थियो ।

विद्याले सामान्य सुतीको साडी लगाएकी थिइन् । उनको मुहारमा एउटा क्रान्तिकारी नेताकी सहयात्रीको झल्को पाउन सकिन्थ्यो । उनले त्यतिबेला हामीलाई खुवाएको कालो चियाको स्वादमा नैनिकता, इमानदारिता र जनपक्षधरताको परिशुद्ध गुलियो घोलिएको थियो । हृदयदेखि नै लाग्यो, हामी एउटा सच्चा कम्युनिष्ट नेताको निवासमा पुगेका छौं ।

केही समयपछि २०५० साल जेठ २ गते दासढुँगा दुर्घटनामा मदन भण्डारी र जिवराज आश्रितको निधन भयो । षडयन्त्र थियो कि सामान्य दुर्घटना, त्यो अझै रहष्यमय नै छ । तर, तात्कालीन एमालेले मदनको ‘शोकलाई शक्तिका बदल्ने’ निर्णय गर्दै आन्दोलन चर्काउन थाल्यो । तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै ‘मदनको हत्यारा’ भन्नेसम्मका आरोप लगाइयो । सडकका रेलीङ भाँचीए, टेलिफोन बुथहरु फुटाइयो । टायर बालेर पुरै शहर प्रदुषित पारियो । तात्कालीन एमालेले लासमाथि राजनीति थाल्यो ।

मदनको ख्याती र उनको निधनपछिको शोकको मास सेन्टीमेन्टलाई भजाउने र सहानुभूतिको भोट बटुल्ने हिसाबले एमालेले प्रतिनिधिसभामा मदनले जितेको तात्कालीन काठमाडौं क्षेत्र नम्बर एकमा उनकै विधवा विद्या भण्डारीलाई उम्मेदवार बनायो । ती प्रारम्भिक दिनहरुमा विद्यालाई भाषण गर्नसमेत राम्ररी आउँदैनथ्यो ।

यसबारेमा विद्यासँग नजिक काठमाडौंका शक्रिय अगुवा नेता नेपालजीत लामाले आफ्नो हालै प्रकाशीत पुस्तक ‘मन्थन’मा लेखेका छन्, ‘२०५० सालमा उपनिर्वाचन हुँदा विद्या भण्डारीलाई काठमाडौं क्षेत्र नम्बर–१ बाटै उठाइयो । ‘जनताकी छोरी विद्या भण्डारी’ नाराका साथ हामी उहाँको प्रचार प्रसारमा व्यापक रुपमा जुटयौं । पार्टी सदस्य भए पनि विद्याले पार्टीमा त्यतिबेलासम्म खासै काम गर्नु भएको रहेनछ । श्रीमानको शोकका साथै निर्वाचनको बोझ । मदनकी बिधवालाई जसरी पनि जिताउनैपर्ने हाम्रो चुनौती थियो । जिल्ला कमीटीका साथीहरुले नै विद्यालाई भाषण गर्न सिकाउँथे । हाम्रो क्षेत्रमा त्यसताका प्रदीप नेपाल, युक्त भेटवाल, नारायण ढकाल र हिमाञ्चल भट्टराई शक्रिय हुनुहुन्थ्यो । सार्वजनिक कार्यक्रम हुनुअघि उहाँलाई भाषणको रिहर्सल गर्न लगाउँथ्यौं । हामी दर्शक हुन्थ्यौं, उहाँ भाषणको अभ्यास गर्नुहुन्थ्यो ।’

उपनिर्वाचनमा विद्याका प्रतिश्पर्धी नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई थिए । उनी विद्यासँग पनि हारे । किशुनजीलाई हराउन त्योबेला पार्टीभित्रैबाट अन्तर्घात भएको कुरा किशुनजी निकट पत्रकार रेवती रमण सुवेदीले तात्कालीन जनमंच साप्ताहिकमा लेखेका थिए । किशुनजीको पराजयका कारण मुलुकको राजनीति ओरालो लाग्दै गयो । किनकी, त्यसले काँग्रेसमा कलह र विभाजन उत्पन्न गर्यो । छत्तिसे र चौहत्तरेको जन्म भयो, मुलुक मध्यावधि निर्वाचन र सत्ता समीकरणको दुश्चक्रमा फँस्यो ।

मदन साइकल चढथे, पूराना पत्रिकालाई फोल्ड गरेर स्टीच मार्थे र खामको रुपमा प्रयोग गर्थे । उनमा कुनै भड्किलोपन थिएन । यस्ता सरल र सादगीपूर्ण नेताकी पत्नीलाई आज किन चाहियो १८ करोडको विलासी गाडी ? किन चाहियो आँगनमै हेलिप्याड र किन सार्नुपर्यो प्रहरी तालिमकेन्द्र ?

यता मदनको लिग्यासी या उत्तराधिकारको लाभ विद्याले पाउँदै गइन् । सरकार र पार्टीमा उनको बढोत्तरी हुँदै गयो । र छोटो समयमै उनी पार्टीकी शसक्त नेतृ कहलीन थालिन् र अन्ततः उनी दुर्इ दुर्इ पटक राष्ट्रपति बन्न सफल भइन् । यो सबै जननेता मदनको लिग्यासीबाटै उनलाई प्राप्त भएको हो । विद्या यदि मदनकी विधवा हुँदैनथीन भने आज उनी यो स्थानसम्म पुग्दैनथिन् ।

किनकी, पार्टीमा लामो समयदेखि कार्यरत रहँदै आएका धेरै महिला नेतृहरु पाखा परेका छन् । स्वयं जिवराज आश्रितकी पत्नीको कुनै खोजखबर छैन । भूमिगत कालदेखि भिडेका त्यागी महिला नेतृको ठाउँमा टाठाबाठा, चल्तापुर्जा र सुन्दर नेतृहरु हावी भइरहेका छन् । कोमल वलीहरुको जगजगी छ । कम्युनिष्ट नेताहरु रेखा थापासँग नाच्ने युग आएको छ । कम्युनिष्ट पार्टीमा बुर्जुवा राजनीतिक सँस्कार हावी भइरहेको छ । यस्तो बेलामा मदनकी जिवनसँगीनी भएकै कारण मात्र विद्याप्रति सबै जनता र पार्टीको सहानुभूति भएको हो । उनको नेतृत्व सबैले स्वीकारेको हो र राष्ट्रपतिजस्तो गरीमामय पदसम्म पुर्याएको हो । वैचारीक, राजनीतिक र साँगठनिक रुपमा उनीभन्दा अग्रज नेतृ अरु थुप्रै थिए, तर भावनात्मक हिसाबले उनी सबैकै सहानुभूतिकी पात्र भएकी न हुन् ।

ठिक छ, मदनको उत्तराधिकारी हुने पुरापुर अधिकार विद्यालाई छ । तर, मदनको उत्तराधिकार या लिग्यासी ग्रहण गर्ने भनेको पद र प्रतिष्ठा प्राप्तीका लागि मात्र त हैन होला । मदनको लिग्यासी बोक्ने भनेको उनको आचरण, संस्कार र विचार पनि त होला । मदन साइकल चढथे, उनमा कुनै भड्किलोपन थिएन । मदन कुन हदसम्म मितव्ययी थिए भने खामसमेत किन्दैनथे । पुराना पत्रिकालाई फोल्ड गरेर स्टीच मार्थे र खामको रुपमा प्रयोग गर्थे ।

केपी ओली भन्थे, बयल गाडा चढेर गणतन्त्र आउँदैन, आखिर आयो । अब के बयलगाडा चढेर समाजवाद आउँदैन भन्न खोजिएको हो र करोडको गाडी खोजिएको हो ?

यस्ता सरल र सादगीपूर्ण नेताकी विधवालाई आज किन चाहियो १८ करोडको विलासी गाडी ? किन चाहियो आँगनमै हेलिप्याड र किन सार्नुपर्यो प्रहरी तालिमकेन्द्र ? रगतको टिका र ल्याप्चे लगाएर कम्युनिष्ट पार्टीको सदस्य भएको त्यो गौरवमय इतिहास भुलेर आज किन राजा महाराजाले झैं राज्यका निकायका प्रमुखहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाइदिनुपर्यो ? धर्म निरपेक्ष राज्यको राष्ट्रप्रमुख किन छठमा अर्घ दिन जानुर्यो ? किन तीजमा पशुपति जानुपर्यो ? जाने नै हो भने अब उधौली उभौली, क्रिसमस, हेल्मो ल्होसार, तमु ल्होसार, तामाङ ल्होसार, बकर इद, माघीमा पनि सहभागी हुने कि नहुने ? मदन भण्डारी त धर्मलाई अफीम नै भन्नुहुन्थ्यो, उहाँको लिग्यासीको दुहाइ दिँदा उहाँको विचार र दर्शनलाई तिलाञ्जली दिने कि अपनाउने ?

प्रश्नहरु धेरै छन् । मदनको रहष्यमय दुर्घटनालाई हत्या नै ठहर गरी मुलुकमा उपद्रव मच्चाउने केपी ओली प्रधानमन्त्री छन् । खै त हत्यारा पत्ता लगाएको ? दुइ तिहाइ बहुमतवाला सरकारलाई मदनका हत्यारा पर्दाफास गर्न केले रोकेको छ ? मदन भण्डारीको लिग्यासी भजाएर नेकपा(नेकपा)का नेताहरुले राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउनु भनेको मदनको अपमान हो, उनको सपनाको उपहास हो । के करोडको गाडी चढेर समाजवादसम्म पुग्न सकिएला ? केपी ओली भन्थे, बयल गाडा चढेर गणतन्त्र आउँदैन, आखिर आयो । अब के बयलगाडा चढेर समाजवाद आउँदैन भन्न खोजिएको हो र करोडको गाडी खोजिएको हो ?