काठमाडौँ– आगामी मंसिर २२ देखि काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार मंसिर २२ अर्थात् उद्घाटन खेल पारस खड्का नेतृत्वको विराटनगर वारियर्स् र ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स् भिड्नेछन् ।


ADVERTISEMENT


कुल ६ टिमले प्रतियोगिता १५ दिन चल्नेछ । ललितपुरबाट खेल्ने नेपाली युवा स्टार सन्दीप लामिछाने अष्ट्रेलियाको बिगब्यास लिग खेल्न जाने भएकाले ललितपुरले तीन दिनमा तीन खेल खेल्नेछ । त्यसपछि सन्दीप अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।


ADVERTISEMENT

# # #


लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएकाले स्टार विदेशी खेलाडीलाई समेत देख्न सकिनेछ । प्रतियोगिताको यस सिजनमा टेस्ट राष्ट्र आयरल्यान्डका चर्चित खेलाडी केभिन ओ ब्रायन, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद, हंगकंग खेलाडी बाबर हायात, स्कटल्याण्डका केल कोट्जर तथा इंग्ल्याण्ड यु–१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले सहभागिता जनाउने तय भइसकेको छ ।

तेस्रो संस्करणको इपीएलमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्सले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।