विराटनगर– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएक छन् ।


ADVERTISEMENT


राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सभापति देउवाले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताए।


ADVERTISEMENT

# # #


जननायक बिपी कोइराला र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको औँल्याए । उनले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको चर्चा गर्दै सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राखे ।

पार्टीभित्रको कमी कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गर्दै काङ्ग्रेसप्रति जनताको साख नगिरेको कुरामा जोड दिए ।
पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई समयानुकूल अघि बढाउन विधान संशोधनको विकल्प नरहेको धारणा राखे । केन्द्रीय सदस्यद्वय डा ज्ञानेन्द्र कार्की र डिला सङ्ग्रौलाले सरकारलाई सही मार्गमा ल्याउन काङ्ग्रेसको भूमिका बढाउनुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई कसरी डोर्याउने, आर्थिक र राजनीतिक रणनीति के हुने र पार्टीलाई समयसापेक्ष बनाउन विधानमा हुने संशोधनका विषयबारे सुझाव लिने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा प्रदेश नं १ का पार्टी सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।