नेपाली कांग्रेस निटक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आउन लागेको केन्द्रीय महाधिवेशन, वर्तमान अवस्था र भावी मुद्दाको बारेमा युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीसंग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


प्रेस युनियनको निर्वाचन नजिकिँदै गर्दा व्यस्तता कत्तिको बढिरहेको छ ? तयारी कसरी गरिरहनु भएको छ ।


ADVERTISEMENT

# # #


व्यस्त नै छौँ । अहिले कम्तीमा ४२ वटा शाखाको अधिवेशन सकिसकेको छ । यो सात गतेपछि कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला र मुगुको अधिवेशनहरु भएको छ । त्यसपछि सल्यानको अधिवेशन पनि १३ गते रहेको छ । हाम्रो डोल्पामा शाखा छैन भने, हुम्लाको हामी पछि गर्छौँ । नेपाली कांग्रेसको महासमितिको बैठक अगाडी थप केही जिल्लाको अधिवेशन पनि सकिँदैछ ।  हामीले मंसिर २७, २८ मा तोकेको महाधिवेशनको मितिसंग कांग्रेसको महासमितिको बैठक जुधेकाले केही प्रभावित भएको हो । पार्टीको सल्लाह बमोजिम हामी महाधिवेशन केही पछि सार्ने कुरा भइरहेको छ, निर्णय हुन बाँकी छ ।

उसो भए कहिले हुन्छ त महाधिवेशन ? 

सुदूरपश्चिम प्रदेशका तीनवटा शाखाहरु : कञ्चनपुर, कैलालीको लम्की र अछाम अधिवेशन हुन बाँकी रहेका छन् ।  यस्तै प्रदेश ५ पराशी बाहेकका जिल्लाहरु लगभग सकिएका छन् । यस्तै अन्य प्रदेशमा पनि केही जिल्लाहरु बाँकी रहेका छन् । पुसको अन्तिमसम्म ती क्षेत्रको हामी अधिवेशन गर्छौँ । त्यसपछि पार्टीसंगको सल्लाह बमोजिम हाम्रो बैठकले मिति तोक्छ । सम्भवतः माघ मसान्तसम्म हामी केन्द्रीय महाधिवेशन गर्छौँ ।

यसपाली सर्वसम्म्तबाटै नयाँ नेतृत्व चयन हुने कत्तिको देख्नुहुन्छ ?

यस्तो छ, सर्वसम्मतको वातावरण बन्यो भने तपाईले भनेजस्तै सबै मतदाताले मत हाल्नै नपर्ने अवस्था पनि आउनसक्छ । अहिले जिल्ला-जिल्लामा सर्वसम्मत भइरहेकाले केन्द्रमा पनि सर्वसम्म्त हुनुपर्छ भन्ने किसिमको मनोभावना देखिन्छ । तर केन्द्रमा यो नहुनसक्छ । किनकी नयाँ नेतृत्वका आकांक्षीहरुको राजनीतिक व्यवस्थापन भएन भने निर्वाचनमा जानुपर्ने अवस्था आउँछ । यस्तै पार्टीको महासमितिको बैठकले पनि यसलाई केही प्रभाव पार्न सक्छ । त्यस कारण अहिलेको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा स्वेरकल्पना जस्तो हुनसक्छ । तर आशा गरौँ, नयाँ नेतृत्व सर्वसम्मतबाटै नै चयन होस् ।

शाखाहरुको महाधिवेशनको क्रममा जिल्ला-जिल्ला पुग्नु भयो होला । त्यहाँ पुग्दा आम सदस्यको प्रतिक्रिया के पाउनु भयो । के भन्छन् उनीहरु ?

यसपटक नेपाल प्रेस युनियनलाई वैचारिक रुपले चुस्त दुरुस्त बनाउने साथै क्रियाशिलताका हिसाबले पनि काम गर्न टिम चाहिन्छ भन्ने छ । जस्तो धेरै जिल्लामा म के देखिरहेको छु भने युवा क्रियाशिल पत्रकार साथीहरु कमिटीमा आइरहनु भएको छ । ती साथीहरुमा जुन किसिमको उत्साह देखिन्छ, त्यसले हामीलाई पनि काम गर्न प्रोत्साहित गर्छ । पत्रकारको नेता पत्रकारिता नै गरिरहेको हुनुपर्छ भन्ने खालको भावना अहिले आइरहेको छ । त्यसले व्यक्तिगत रुपमा पनि म थप उर्जा दिएको पाउँछु । यो संगठनलाई प्रतिस्पर्धी संगठनको बीचमा अब्बल, सक्षम र जुझारु बनाउनका लागि साथीहरुको उर्जाले मलाई उत्साहित बनाएको छ ।

तपाईले महासचिव भएर काम गरिसक्नु भएको छ । आउँदा महाधिवेशनका लागि अन्य व्यक्तिहरु पनि अध्यक्षका आकांक्षी होलान् । यसमा तपाईको तयारी के छ ?

अहिले मैले अध्यक्षको आकांक्षा धेरै साथीहरुबाट आएको पाएको छैन । केही सथीहरुले आफ्नो गृहकार्य गरिरहनु भएको छ । नेतृत्वमा आउने स्वभाविक प्रकृयाहरु छन् । ती प्रकृयालाई कहीँ पनि अवरुद्ध गर्नु हुँदैन भन्ने मेरो भनाई हो । यसमा पार्टीको पनि केही भूमिका होला । अग्रज पत्रकारहरु हुनुहुन्छ । प्रेस युनियनको नेतृत्वमा पुगिसकेका अग्रज दाईहरुले यो स्वभाविक प्रक्रियाबाट आउन खोजिरहेका ‘इमर्जिङ नेतृत्व’लाई त्यहाँ आउने वातावरण बनाइदिनुपर्छ । त्यसभित्र पत्रकारितामा क्रियाशिलता र निरन्तरता हेर्दै पार्टीप्रतिको भूमिका लगायतका कुराहरुलाई हेरेर चयन गर्ने प्रक्रिया हो । तर पार्टीले यो भित्र छिरेर हस्तक्षेप काम सकेसम्म नहोस् भन्ने हामी कामना र अपेक्षा गर्दछौँ ।

अध्यक्षको महत्वकांक्षा बोकिरहँदा त्यो पदमा निर्वाचित भइसकेपछि के गर्छुजस्तो लाग्छ ?

अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता लिएको पहिलो सदस्य संस्था भएकाले त्यसको गरिमालाई कायम राख्दै अगाडी बढ्नुपर्ने चनौति एउटा छ । यस्तै नेपालमा रहेका र बाहिर रहेका श्रमजिवी क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको एउटा साझा संस्थाको रुपमा विकास गर्नुपर्ने अर्को चुनौति छ । त्यसैले हामीले भनेका छौँ, प्रेस युनियनले नेपालका पत्रकारको भौतिक र पेशागत सुरक्षाको मात्र कुरा नगरी प्रत्येक पत्रकारको सम्मानलाई पनि ख्याल गर्छ । एउटा राजनीतिज्ञले पत्रकारलाई हेर्ने दृष्टिकोण, वा नागरिक सामाजिकले वा एउटा व्यावसायीले पत्रकारलाई हेर्ने दृष्टिकोणमा जबसम्म हामी सम्मानको अवस्था सिर्जना गर्न सक्दैनौँ । तबसम्म पत्रकारिता पेशालाई प्रभावकारी बनाउन सक्दैनौँ । त्यसैले पत्रकारको सम्मानजनक पहिचानलाई यो पटक जोडदार ढंगले उठाउनुपर्छ । यसका लागि हामीले काम गर्न जरुरी छ । अन्य थुप्रै एजेण्डाहरु छन् । मेरो जोड यी विषयवस्तुमा रहनेछ ।

तपाईको माउ पार्टी कांग्रेस अहिले विभिन्न किसिमका गुट उपगुटले थलिएको छ । त्यही पार्टीको एउठा संगठन नेपाल प्रेस युनियनमा चाही गुटउपगुट कत्तिको छन् ? यसले अधिवेशनलाई कत्तिको असर पार्छ ? 

हिजो पार्टी फुट्दा पनि नफुटेको प्रेस युनियन हो । त्यसैले यहाँ धेरै गुटको पैभाव रहँदैन र रहनु पनि हुँदैन । आफ्नो नेतृत्व चयन गर्न पत्रकार साथीहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ भन्ने विश्वास हो । त्यसकारण यसतर्फ हामी धेरै द्वविधामा रहनुपर्ने आवश्यकता छैन ।

अन्त्यमा, अधिवेशन भइसकेका जिल्लाहरुका निर्वाचित प्रतिनिधिहरु, केन्द्रीय महाधिवेशनका बेला निर्वाचन प्रतिनिधि भएर आउनेहरु लगायत प्रेस युनियनमा आवद्ध सदस्यहरुलाई के भन्नुहुन्छ ?

जिल्ला अधिवेशनमा निर्वाचित भइसकेका साथीहरु अहिले नेतृत्व तहमा आइसक्नु भएको छ । निर्वाचन प्रतिनिधि भएर आउँदै गर्दा नेपाल प्रेस युनियनलाई अबको दिनमा कस्तो बनाउने भन्ने कुरा उहाँहरुको मतमा निर्भर पर्छ । नेपाल प्रेस युनियनलाई क्रियाशिल, जुझारु र अब्बल संगठनका रुपमा स्थापित गराउने महत्वपूर्ण भूमिका उहाँहरुको हातमा छ ।

अधिवेशन हुनुभन्दा अघि युनियनलाई यस्तो बनाउनुपर्छ भनेर उहाँहरुले जे जे भन्नु भएको थियो, त्यो कार्यान्वयन गर्ने तहमा उहाँहरु पुग्नु भएको छ । मैँले अघि पनि भनेँ पत्रकारितालाई सम्मानजनक पदका रुपमा स्थापित गराउनका लागि उहाँहरुले महत्वपूर्ण भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।