काठमाडौँ– चितवन टाइगर्सले यही २२ गतेदेखि काठमाडौँमा हुने तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि टेस्ट राष्ट्र आएरल्याण्डका विकेटकिपर ब्याट्समेन पाउल स्टर्लिङलाई अनुबन्ध गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै चितवनले उनको आगमनले टोलीमा ठूलो बल पुग्ने जनाएको छ ।


ADVERTISEMENT


दाहिने हाते ब्याटिङ अलराउन्डर स्टर्लिङले आयरल्याण्डका लागि १ टेष्ट, एक सय एक दिवसीय र ५२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनीसंग ६५ प्रथम श्रेणी तथा १ सय ८० लिस्ट ए मान्यता प्राप्त खेल खेलेको पनि अनुभव रहेको छ । इङलिस काउन्टी मिडिल सेक्सबाट खेलिसकेका २८ वर्षीय स्टर्लिङसंग बंगलादेश प्रिमियर लिग खेलेको पनि अनुभव रहेको छ ।


ADVERTISEMENT

# # #


उनी हाल युएईमा जारी टी १० लिगमा केरला किंसबाट खेलिरहेका छन् । बुधबार मात्रै उनले आफ्नो टोलिलाई जित दिलाउनका लागि १४ बलमा ४० रन बनाएका थिए ।

चितवन टाइगर्सका मालिक किशोर भट्टले स्टर्लिङको आगमनले टिमलाई नयाँ दिशा दिने बताए ।

‘गत सिजनमा हामीले चाहेजस्तो हुन सकिरहेको थिएन । त्यसको आधारमा हामीले पाउल स्टर्लिङ जस्ता खेलाडीको आवश्यकता महशुस गरेका हौँ । उनको आगमनले टोलीलाई नयाँ जोश दिने र लक्ष्यमा पुर्याउने हामीले विश्वास लिएका छौँ’ उनले भने, ‘बाँकी दुई जना विदेशी खेलाडीका लागि विश्व स्तरीय खेलाडी ल्याउने हाम्रो प्रयास जारी रहन्छ, विश्वास छ हामी त्यो लक्ष्यमा चाँडै पुग्छौँ ।’

चितवनले यसअघि इङल्याण्डका म्याक्स होल्डेन र न्यूजिल्याण्डका जेम्स फुलरलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । तर होल्डेन इङल्याण्डको ‘ए’ टोलीमा छनोट भएकाले तथा फुलर पारिवारिक कारणले इपीएलमा सहभागी हुन नसक्ने भट्टले जानकारी दिए ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवनमा पृथु बाँस्कोटा, दिलीप नाथ, ललित भण्डारी, सन्दीप सुनार, भीम सार्की, कमलसिंह ऐरी, साहब आलम लगायत रहेका छन् । गत वर्षको टोलीबाट चितवनले सुवास खकुरेल, सुनाम गौतम र योगेन्द्रसिंह कार्कीलाई रिलिज गर्दै उनीहरुको ठाउँमा आदिल खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ ।

मंसिर २२ गतेदेखि १५ दिन चल्ने प्रतियोगितामा पोखरासहित काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर र चितवन टाइगर्स गरी कुल ६ टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएकाले स्टार विदेशी खेलाडीलाई समेत देख्न सकिनेछ ।

प्रतियोगिताको यस सिजनमा आयरल्यान्डकै अर्का चर्चित खेलाडी केभिन ओ ब्रायन, जिम्बावेका अलराउन्डर सिकन्दर राजा, युएईका कप्तान रोहन मुस्ताफा र मोहम्मद नाभिद, हंगकंग खेलाडी बाबर हायात तथा इंग्ल्याण्ड यु–१९ क्रिकेटर जोन सिम्पसन जस्ता खेलाडीहरुले सहभागिता जनाउने तय भइसकेको छ ।