गोम बिक्रमका पाँच मुक्तकहरु
मुक्तक-१
मेनका भनूँ या उर्वशी, न सुहाउँदो उपमा भेट्छु ?
सँगको जोडी भनाउँदो, खाडीको चर्को धूपमा भेट्छु
प्रयोगवादी हुँदै गैछ्यौ, सबको मन छुँदै गैछ्यौ
तिम्लाई हेरे नेटमा पनि, अचेल नौला रुपमा भेट्छु ।
मुक्तक-२
एकै नजर परेपछि, सबका मनमा छाउने भैछौ
मुख्य कुरा बाँकी नै होस, अन्लाइनमा आउने भैछौ
अनौठा खाले फोटा देख्छु, लुगा उस्तै छोटा देख्छु
नेटमा भुल्थ्यौ मस्तसित,अचेल चश्मा लाउने भैछौ ।
मुक्तक-३
कसम थियो जुनी भरको, कसले कुरा भरेछ र
सारा तालमेल मिल्दै थियो, थोरै लगन टरेछ र
योजना सबै फेल भए, नौजालेका खेल भए
तिमी मैसित हुन्थ्यौ होला, थोरै ‘बितल’ परेछ र !
मुक्तक-४
ओंठमा तिम्रो मुस्कान भए, मेरो मनको दु:ख भाग्छ
तिम्लाई कतै विपत् परे, पहिले जस्तै माया जाग्छ
सपनाभरी आइरन्छ्यौ, यादभरी सताइरन्छ्यौ
तिमी कसैकी भए पनि, अझै मलाई ‘उस्तै’ लाग्छ ।
मुक्तक-५
जिन्दगीलाई भोग्दै जाँदा, कतिपय भूल हुन्छ
कहिले काँडा हात पर्छ, कहिलेकाही फूल हुन्छ
सुख-दु:ख सहँदै गए, संघर्षशील रहँदै गए
हरेक कठीन कुरा पनि, आफ्नै अनुकूल हुन्छ ।
गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५/०८/०८