मलेखु, धादिङ– विगत पाँच वर्षदेखि पानी माग्दै आएका दक्षिणी धादिङका चेपाङ बिहीबार जिल्लाका सरकारी कार्यालयमा पानी माग गर्दै आफ्नो गाउँमा परेको बजेटबारे सोधखोज गर्न स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुगे ।


ADVERTISEMENT


स्थानीय विकास अधिकारी जीवलाल भुसालको कार्यकक्षमा प्रवेश गरी चेपाङ समुदायले आफूहरुलाई बचाइदिन माग गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रत्येक घरमा खानेपानी धारो हुनुपर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्था मिलाउनुपर्ने, जनता आवास/पुनर्निर्माण कार्यक्रमबाट सबै घर बनाउने, बालकक्षालाई दरबन्दी बनाउनुपर्ने, सडक तथा बजार सहज पहुँच हुनुपर्ने, गाउँलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्नुपर्ने र यी मागहरु पूरा गर्न वा हुन नसके प्रतिपरिवार आवाससहित १२ रोपनी खेतीयोग्य जमिन र खानेपानी, बिजुली बत्ती, स्कुल र सडक भएको ठाउँमा आफूहरुलाई एक वर्षभित्र बसाइँ सारिनुपर्ने माग गरेका छन् ।

गत वर्ष आफ्नो गाउँमा पानी माग गर्न आउँदा योजना परेको बताइएको थियो तर यस वर्ष रकम खर्च भइसकेर पनि गाउँमा काम नभएपछि गाउँको योजनाबारे सोधखोज गरेको प्रेमबहादुर चेपाङले बताए ।

खानेपानीको अभावमा तिर्खा मेट्ने गरी खानेपानी पनि खान पाएका छैनौँ । बिहान–बेलुका नै अन्न खान मुस्किल छ । टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा भ्याकुर लगायतका जङ्गली कन्दमूलको भरमा कति बस्न सकिन्छ र ? फूलमायाँ चेपाङले प्रश्न गर्दै बालबच्चा नुहाउन, घरआँगन सरसफाइ गर्न, हातखुट्टा धुन मात्र नपाएको होइन पेटभरि पानी खान नपाएकाले सरकारले गरिब चेपाङको माग पूरा गरिदिन माग गरिन् ।