काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण लगातार बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT


अहिले काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली भएको र दिनभरि नै यस्तै रहने उनले बताए । तर पानी पर्ने सम्भावना भने देखिएको छैन । एक दुई ठाउँमा छिटफुट पानी परे पनि बदली भएका प्रायः क्षेत्रमा चिसो भए पनि पानी पर्ने छैन । तर उच्च पहाडी क्षेत्रका केही ठाउँमा भने हिउँ पर्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


बिस्तारै अधिकतम तापक्रम घट्दै गएकाले चिसो बढ्दै गएको र दिउँसोमा पनि जाडो महसुस हुने गरेको छ । तराईका विशेष गरी सीमा क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । दिउँसो बिस्तारै हुस्सु खुल्दै जाने सम्भावना छ ।

काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम आइतबार बिहान ८ डिग्री मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा ०.६ डिग्रीले बढी रहे पनि अधिकतम तापक्रम घट्दै गएको छ । आइतबार उत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीको बिचमा रहने अनुमान छ ।