तनहुँ– पछिल्लो समय जिल्लाका घरबास (होमस्टे)मा पाहुनाको भीड बढ्दै गएको छ भने क्यामफायर गर्नेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ ।


ADVERTISEMENT


भानु नगरपालिका–५ स्थित नावरुङमा यतिखेर आन्तरिक पर्यटकको भीड बढेको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुईवटा घरबास भरिभराउ हुने गरेका छन् । आन्तरिक पर्यटक घरबासमा बस्न तथा खान मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखापखेरामा रम्नका लागि आउने गरेका हुन् । चाडबाड सकिएसँगै घरबासमा पर्यटक आउन थालेका नावरुङ घरबासकी अध्यक्ष सतिदेवी मल्लले बताइन् ।


ADVERTISEMENT

# # #


पर्यटक बढेसँगै आयआर्जनमा वृद्धि हुने गरेको उनले जानकारी दिइन् । शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि भएको उनले बताइन् । गाउँमा नै बसीबसी स्थानीयवासीले आम्दानीमा वृद्धि गरी मासिक पन्ध्रदेखि बीस हजारसम्म कमाई गर्ने गरेका छन् । पर्यटक रमाइलो गर्नभन्दा पनि घरबासका घर हेर्न आउने गरेका छन् । त्यहाँका फरक प्रकारका घरले घरबासमा बस्दा रिसोर्टमा बसेको अनुभुति कतिपय पर्यटकलाई हुने गरेको छ ।

विसं २०७३ बाट १६ वटा घर मिलेर दुईवटा घरबास सञ्चालन गरिएको त्यस गाउँको मुहार नै फेरिएको छ । भाले जुधाइ घरबास र नावरुङ घरबास गरी दुईवटा होमस्टे गाउँमा सञ्चालनमा छन् । घरबासमा आउने जो कोही पनि त्यहाँ पुगेपछि अचम्मित हुने गरेका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए । चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीबिरङ्गी छातालगायतका वस्तुले शहरमै बसेको अनुभूति दिलाउने गरेको छ ।

घरबासमा आएका पाहुनालाई युवायुवतीले परम्परागत वेशभूषामा सजिई माला लगाएर स्वागत गर्ने गरेका छन् । त्यहाँ सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरीलगायत गीत र नाच गरेर मनोरञ्जन दिलाइने गरिएको छ । त्यस ठाउँमा मगर, गुरुङ र ठकुरी समुदायका स्थानीयवासी मिलेर घरबास सञ्चालन गरेका छन् । दैनिक १५ देखि २० जना पर्यटक होमस्टेमा बस्न आउने गरेका घरबासकी सदस्य कमला आलेले जानकारी दिइन् । घरमै उब्जनी भएको तरकारी घरबासमा नै खपत हुने गरेको र तरकारीले समेत आम्दानी बढेको उनले बताइन् ।

बोयर बोकाको सुकुटी

प्रायःजसो घरबासमा अर्गानिक खानाका परिकार एउटै प्रकारका हुने गरेका छन् । तर, यहाँ अन्यत्र भन्दा फरक छ । यहाँ बोयर बोकाको सुकुटी पर्यटकलाई आकर्षित पार्न दिइने गरिएको छ । त्यस्तै सिस्नो, आँटो, गुन्द्रुक, भट्ट, लोकल कुखुराको मासु, रोटीलगायत पाइने गरेको छ । घरबासमा रु एक हजारमा बिहान–बेलुका मासु खाना र बिहान–दिउँसो नास्ताको व्यवस्थासहित बास बस्ने सुविधा मिलाइएको छ ।

ऐतिहासिक तनहुँसुर दरबार, भानुभक्तको जन्मगाउँ, प्रसिद्ध थानीमाई मन्दिर, मिर्लुङकोट र नेपालको दोस्रो प्रधानमन्त्री रङ्गनाथ पौडेलको जन्मगाउँ देख्न सकिन्छ । त्यस्तै रमणीय हिमशृङ्खला, सूर्योदय र सूर्यास्तसमेत यही ठाउँबाट सजिलै नियाल्न सकिन्छ । घरबासमा बढी मात्रामा पर्यटक क्यामफायर गर्न आउने गरेका छन् । गत महिना मात्र सिन्धुपाल्चोकबाट ८० जना एकै दिन होमस्टेमा बस्न आएका र जसले गर्दा गाउँ नै भरिभराउ भएको थियो । कहिलेकाहीँ नेपाली पथप्रदर्शकले विदेशीलाई समेत घरबासमा ल्याउने गरेका छन् । – सानेबहादुर नेपाली/रासस