दमौली– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको इन्द्र झरनालाई व्यावसायिक रुपमा सञ्चालन गर्नका लागि चासो देखाएका छन् ।


ADVERTISEMENT


सफल परीक्षण सम्पन्न भइसकेको यस झरनाको आज अवलोकन गर्दै मन्त्री गुरुङले यसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि चासो देखाएका हुन् । मन्त्री गुरुङकै आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङले झरनामा क्यानोनिङको परीक्षण गरेको थियो । परीक्षणबाट उक्त ठाउँमा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्न सम्भव देखिएको छ ।


ADVERTISEMENT

# # #


उक्त ठाउँ मन्त्री गुरुङको जन्म गाउँ समेत हो । सो अवसरमा मन्त्री गुरुङले यस ठाउँको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउँदै पर्यटनबाटै समृद्धि सम्भव रहेको धारणा व्यक्त गरे । उनले भने, “झरनामा सफल परीक्षण भइसकेको छ, अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ स्थानीयवासी लाग्नुपर्छ । यसमा प्रदेश सरकारको सधैँ सहयोग रहनेछ ।”

कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र स्थापना गरिएको छ, भने निकट भविष्यमा नै होमस्टेसमेत सञ्चालन गर्ने तयारी थालिएको वडा अध्यक्ष इमानसिंह थापाले जानकारी दिए। उनले भने, “कृषि र पर्यटनलाई एकसाथ अगाडि बढाएर वडालाई नमूनाको रुपमा विकास गर्ने उद्देश्य रहेको छ ।”

थापाले यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रुपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकोले यसको पूर्वाधार निर्माणमा जोड दिइने जानकारी दिए। यस ठाउँका १० घरधुरीमा होमस्टे सञ्चालनको तयारी थालिएको छ । स्थानीय अगुवा युवा शिवकुमार आलेले झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि तालीमसमेत आयोजना गर्न लागिएको जानकारी दिए । नेपालका प्रख्यात क्यानोनिङ व्यवसायीलाई बोलाएर क्यानोनिङ तालीम आयोजना गर्न लागिएको उनले बताए ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमि पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।