कञ्चनपुर– कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।


ADVERTISEMENT


सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए । उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


“भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ” – उनले भने।

आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् ।

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जस्मा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मतदानस्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहने छन् । थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारी रुपमा परिचालन गरिने उनले बताए ।

मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक भरत दाहालले बताए ।

यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने उनले उल्लेख गरे ।

सार्वजनिक सूचना जारी गरी मदिराको सेवन, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।