नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडासंग विविध विषयमा गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


चुनाव जितेपछि कम्युनिस्ट त सरकारमा छन्, प्रतिपक्षी कहाँ छ ? प्रतिपक्षीप्रति जनताले कसरी हेरिरहेको पाउनुहुन्छ ?


ADVERTISEMENT

# # #


चुनावमा जनताले जहाँ राखेका छन् त्यहीँ छ । दुई तिहाईको सरकारले वास्तवमा जनताको इच्छा र आकांक्षालाई पूरा गर्न सकेन । मिठामिठा नारा दिएर जनतालाई सपनामात्रै बाँड्यो । रेलदेखि पानी जहाजसम्मका सपना देखाइयो । चुनाव जित्नेबित्तिकै घरघरमा बुढाबुढीलाई पाँच हजार रुपैयाँ पुर्याउछौँ भनेर भाषण गरेको उहाँहरुले नै हो । तर पहिलो पटक यति शक्तिशाली बनेको सरकारले जनतालाई पाँच हजार होइन, पाँच रुपैयाँ बजेट जेष्ठ नागरिकलाई दिन सकेन । उल्टो ६५ वर्ष पुगेका नागरिकलाई २ हजार रुपैयाँ दिने भनेको पैसा पनि कटौति गर्यो । उपप्रधानमन्त्रीहरु हेलिकोप्टरमा शयर गर्न व्यस्त हुनुनुन्छ ।

चार-चार महिनासम्म पनि एउटी बलात्कृत बालिकाको दोषी पत्ता लगाउन सकेको छैन । उल्टै न्याय माग्दा पक्राउ पर्ने अवस्था छ । वाइडबडी विमान खरिद प्रकरणदेखि नेप्से डामाडोलसम्मले मन्त्रीहरुको व्यापक विरोध छ । भैँसीको समेत कर तिर्नुपरेकाले गाई बाख्रासमेत पाल्न नसक्ने अवस्था सिर्जना भएको छ । यस्तो नालायकी सरकार छ । तपाई प्रतिपक्षी कहाँ गयो भनेर सोध्नु हुन्छ । हामी नौ महिनासम्म चूप लागेर बस्यौँ । अब पनि नगरे हामी आफ्नो भूमिका निर्वाह गर्छौँ । सरकार गठन भएको दुई तीन महिनामै ढुंगा मुढा गरेर रोलिङ तोड्दै हिंड्ने परम्परा हाम्रो छैन । हामी राम्रा कामको प्रशंसा गर्छौँ । नराम्रा कामको विरोध गर्छौँ । त्यो पनि समय आएपछि । अहिलेको सरकारका लागि त्यो समय गुज्रिसकेको छ । हामी केहि समय पार्टीको आन्तरिक काममा व्यस्त थियौँ । अब कांग्रेस सदनमा पनि, सडकमा पनि आफ्नो आवाजलाई शसक्तरुपमा उठाउँछौँ ।

सरकारले काम गरेन, सरकार छैन भनेर सोध्नेलाई भन्दै प्रधानमन्त्रीले जुन किसिमको जवाफ दिनुभयो । त्यसमा तपाई के भन्नुहुन्छ ?

पोलमा फोटो टाँस्दैमा सरकार देखिने होइन । निर्मला पन्तका हत्यारालाई पत्ता लगाओस् । अनि देखिन्छ सरकार । वाइड बडी खरिदमा अर्बौं भष्टाचार भएको समाचार आएका छन् । त्यो हेर्नुपर्यो । रोजगारीको खोजिमा विदेश जाने युवाहरुलाई स्वदेशमै रोजगार दिनुपर्यो । अनि पो देखिन्छ सरकार कहाँ छ । सोल्टी होटेलमा तीन दिन सुतेर सरकार छ भनेर हुन्छ ? सरकारले काम गरिरहेको छ भन्ने कुराको विश्वास जनतालाई दिलाउन सक्नु पर्यो नि ? जनताले भेट्ने सरकार पाएका छैनन् ।

भर्खरै काठमाडौँमा एशिया प्यासिफिक सम्मेलन नाम दिएइको एउटा कार्यक्रममा प्रधानमन्त्री, सभामुख र विभिन्न मन्त्रीहरु लगायत सहभागी भएका थिए । धर्म प्रचारका लागि एउटा आइएनजीओले गरेको कार्यक्रमकमा सरकार नै सहभागी भएको भन्दै यसको व्यापक आलोचना भयो । यसलाई कसरी हेर्नुहुन्छ ?

हामी अहिले धर्म निरपेक्षको पक्षमा छौँ । भलै म हिन्दु हुँ । तर एउटा कुरा के हो भने राज्यले फलानो, ढिस्कानो धर्म भन्दै जनतासंग एउटा कुरा गर्ने, अन्त एउटा कुरा गर्ने गर्नु हुँदैन । एउटा एनजीओले गरेको कार्यक्रममा सरकारी निवास बालुवाटार नै छाडेर प्रधानमन्त्रीजस्तो व्यक्ति तीन दिनसम्म होटेल लम्पसार परेर बस्नु जरुरी थिएन । यो प्रधानमन्त्रीको ओलीको गल्ती हो । तर नेपालमा यसले देशलाई फाइदा गर्छ भने त्यो गलत थिएन । तर, धर्म प्रचारका लागि सरकारी निवास छाडेर होटेलमा बस्नु देशका लागि बेइज्जतको कुरा हो ।

निर्मला पन्त प्रकरण लगायतका मुद्दाहरुमा सरकारी उदासिनता जस्तो देखिन्छ । यसलाई कुन रुपमा लिनु भएको छ ?

गृहमन्त्रीले ठूला माछा तुरुन्त पक्रिन्छौँ, सिण्डिकेट अन्त्य गर्छौैँ भन्ने किसिमका भाषण दिनु भयो । तर अहिले त्यो कहाँ पुग्यो त ? निर्मलाका हत्यारा पक्रन सकेको छैन । पूजीवादले बलात्कार बढायो भनेर गृहमन्त्री भन्नुहुन्छ । लाज नहुनेसंग केही औषधी हुँदो रैनछ । तपार्इँले सुन्नु भएकै होला अहिले मन्त्रीकै छोराहरु बिचौलियाको काम गरिरहेका छन् । ठगीहरुको मुद्दा उनीहरुले मिलाउने, पुलिसलाई काम गर्न नदिने, मन नपरेको पुलिसलाई सरुवा गर्ने आदी इत्यादी काम भइरहेका छन् । निर्मला हत्याको दोषी पत्ता लगाउने मात्रै होइन, देशमा शान्ति सुरक्षाको अनुभूति कायम गर्ने र एउटा लगानीको वातावरण सिर्जना गर्ने वातावरण पनि छैन । यसलाई सरकारले तुरुन्त सुधार गर्नुपर्छ ।

एउटा प्रमुख प्रतिपक्षीको रुपमा एकातिर सरकारकालाई सही मार्गमा लैजानका लागि काम गर्नुपर्नेछ अर्कोतिर तपाईको महासमितिको बैठक पनि आउँदैछ । यसका लागि कांग्रेस कसरी अगाडी बढ्छ ?

सबैभन्दा पहिले त हामी कानुनी राज्यका पक्षमा, मानव अधिकार र स्वतन्त्र प्रेसको पक्षमा उभिँदै आएका छौँ । सरकारका गलत कामको विरुद्ध यसैगरी सामाजिक सञ्जाल र मिडियामार्फत जाने कुरा रहिरहन्छ । अहिले चुनाव भएको एक वर्षमा नेपाली जनताले खासै राहत पाएका छैनन् । अब कांग्रेस चुप लागेर बस्ने बेला आउँदैन ।

आउने महासमितिको बैठकमा सबै गुटउपगुटलाई समाप्त पारेर कांग्रेस नयाँ दिशामा अगाडी बढ्छ । व्यक्ति भन्दा पार्टी ठूलो हो, देश र जनता ठूला हन् भन्ने भावना राखेर काम गर्ने हो भने अझै पनि हामी प्रमुख पार्टी हुन्छौँ । नक्कली कुरा गरेर नक्कली काम गर्ने कम्युनिस्ट वामपन्थीहरु सदाका लागि समाप्त हुन्छन् ।

आउने महासमितिको बैठकका प्रमुख मुद्दा के-के छन् ?

हामीले देशलाई शान्ति र संविधान दिएका छौँ । देशलाई समृद्ध बनाउने बाटो तय गरेका छौँ । २० वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचन गराएर मुलुकमा संघियतालाई लगेर कार्यान्वयन गरायौँ । यति गर्दा गर्दै पनि हामी केही कमीकमजोरीले गर्दा दोस्रो पार्टी बन्न पुग्यौँ । यिनै कमजोरीलाई खोतलेर  गुट र फुटको राजनीति होइन, अब एकताको राजनीति गर्ने हो । यही विषयमा महासमितिको बैठकमा छलफल हुन्छ । हामी जनताका घरमा गएर विगतमा गल्ती भएको भए माफी माग्दै फेरि एक नम्बर पार्टी बन्नेगरी आउँछौँ ।

आफू व्यक्तिगत रुपमा पराजित भइसकेपछि पनि मेरो ओखलढुङ्गाका सबै वडामा गइराखेको छु । उहाँहरुका समस्या बुझ्ने र सकेको समाधान गर्ने गरेको छु । यो एक वर्षमा मात्रै म २१ पटक जिल्ला गएको छु । ओखलढुङ्गाका जनता मेरा लागि सबैभन्दा प्रिय जनता हुन् । परिस्थिति कहिलेकाही तलमाथि भइदिन्छ । चुनाव हारेपनि मैँले जनताको माया हारेको छैन ।

अन्त्यमा, पार्टीको महाधिवेशनमा तपाईको व्यक्तिगत तयारी के हुँदैछ ?

म साथीहरुसंग सल्लाह गरेर निर्णय गर्छु । अब त बेला भयो होला नि ! यति त जनता र साथीहरुले मूल्याङ्कन गर्लान् ?