काठमाडौं – काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो पटक विजेता सुपरओभरबाट छानिएको छ । मंगलबार पोखरा राइनोज र विराटनगर वारियर्सबीचको खेल स्कोर बराबर भएपछि विराटनगरले सुपर ओभरमा ७ रनको जित हात पारेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवी मैदानमा ८५ रनको लक्ष्य पछ्याएको विराटनगर वारियर्सले पोखरा राइनोजविरुद्धको न्यून स्कोरको खेलमा ८४ रन बनाउँदा सबै विकेट गुमाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा विराटनगरले २० रन बनायो । २१ रनको लक्ष्य पच्छ्याएको पोखराले मात्र १३ रन बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको विराटनगरका लागि करण केसीले ६ बलमा २० रन बनाए । यता पोखराका लागि रिचार्डस् लेभीले ३ बलमा ३ रन बनाउँदा विनोद भण्डारीले ३ बलमा १० रन हाने ।


ADVERTISEMENT

# # #


यसअघि ८५ रनको न्यून लक्ष्य पछ्याउने क्रममा धर्मराउँदो सुरुआत भए पनि आशिफ शेखले १९ रन बनाएर जोगाएको आशामा मध्यक्रममा रोइलोफ भान डर मेर्वे र रोबिन क्षेत्रीले ११ तथा १२ रन जोड्दै आधार भत्किन दिएनन् । जसमा करणले १९ बलमा १५ रन बनाए भने हरि चौहानले अविजित ९ रन जोड्दा विराटनगर निर्धारित २० ओभरको ३ बल बाँकी रहँदा विक्रम सोभले पाउल भान मेकेरिनको विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

त्यसअघि दुवै ओपनर जोडी दोस्रो ओभरको पहिलो बलमा पवेलियन फर्किँदा विराटनगरको खातामा ५ रनमात्र थियो । अनिलकुमार शाह खाता खोल्न नपाउँदै आउट भए भने कप्तान पारस खड्काले पनि एक रनमात्र बनाउन सके । आशा गरिएका भारतीय खेलाडी स्मित पटेल ८ रनमा आउट हुँदा सुमित महर्जनले पनि ४ रनभन्दा बढि जोड्न सकेनन् ।
पोखराका विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए भने सुसन भारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी शक्तिप्रसाद गौचन, विक्रम सोब र पाउल कोघ्लिनले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विराटनगरका पाउल भान मिकेरेनले ४ ओभरमा १७ रन खर्चिँदै ३ तथा मेर्वेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएपछि पोखराका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेका थिएनन् । विराटनगरका लागि वशन्त रेग्मी र स्मित पटेलले एक–एक विकेट लिएका थिए ।

पोखराका लागि पाउल कोघ्लिनले सर्बाधिक २० रनको योगदान गरे भने राजेश पुलामी मगरले १७ रन बनाए । टोलीका अन्य खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।