काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसभासद रामहरि खतिवडाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको गलत नीति र रवैयाले पुँजी पलायन हुने अवस्था आएको बताएका छन् । उनले विदेशको पुँजी नेपालमा आएर विकास होस् भन्ने सबैको चाहना रहेपनि कम्युनिस्ट सरकारको गलत नीति र रवैयाले पुँजी पलायन हुने अवस्था आएको बताएका हुन्।


ADVERTISEMENT


काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको मुख्यालयको मूल गेटमा तीन दिनदेखि धर्ना बसेकाहरुको आन्दोलनप्रति मंगलबार ऐक्यवद्धता जनाउँदै कांग्रेस नेता खतिवडाले लगानीको वातावरण तत्काल सिर्जना गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘नेपाल स्टक एक्सचेञ्जमा झण्डै १५ लाख लगानीकर्ताले लगानी गरेर शुरुवात गरेको विज्नेशलाई यिनीहरुले (सरकार)ले ध्वस्त बनाउन लागेका छन्’, युवा नेता खतिवडाले भने, ‘लगानीकर्ता र मजदुरहरुलाई यो सरकारले भोकै मार्ने वातावरण सिर्जना गरेको छ । यसमा कांग्रेसको आपत्ति छ ।’

कांग्रेस नेता खतिवडाले देशबाट पुँजी पलायन भयो त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने बताए । ‘नेपालको अर्थतन्त्र ध्वस्त पार्ने कामप्रति हाम्रो आपत्ति छ’, उनले भने, ‘लगानीको वातावरण बनेन भने न कांग्रेस, न कम्युनिस्ट । नेपालमा बस्ने नेपालीहरुले लगानीको वातावरण बनाउन सन्दैनन् । यस्तो अवस्थाले विदेशीहरुलाई नेपालमा आएर लगानीको वातावरण सिर्जना हुँदैन ।’

सरकारले साना लगानीकर्तालाई निर्मुल पारेर पुँजी पलयान गर्ने अवस्था ल्याएको उनले बताए । ‘अनसन बस्ने कसैलाई रहर हुँदैन । सबै लगानी डुब्न लागेपछि अनसन बसेको हो’, नेता खतिवडाले भने, ‘मेरै वंशको व्यक्ति अर्थमन्त्री हुनुभएको छ । उहाँलाई लगानीको वातावरण बनाउन मेरो सल्लाह छ र सुझाव छ ।’

‘युवराज खतिवडा गर्भनर हुँदा युवराज हुनुहुन्थ्यो । आफैले नोटमा सही गर्नुभयो । युवराजबाट महाराज हुनुभयो अर्थमन्त्री भएपछि आफैले सही गरेको नोट सबैलाई दिने हुनुभयो’, उनले भने, ‘महाराजा भएपछि न्याय पाएन भने कहाँ जाने ?’

अर्थमन्त्री खतिवडाको गलत नीति र व्यक्तिवादी सोँचका कारण ६० लाख नेपालीहरु बेरोजगार हुने अवस्था आएको उनले बताए । ‘पुँजी पलायन हुँदै छ । व्यक्तिगत लहडका भरमा देश चलाउने होइन’, कांग्रेसका युवा नेता खतिवडाले चेतावनी दिँदै भने, ‘जायज मागका लागि एकजना पनि काफी हुन्छ । धर्ना बसेर साथीहरुले देशको पुँज पलायन हुनबाट रोक्न लाग्नुभएको छ । मेरो ऐक्यवद्धता छ ।’