काठमाडौं – गौरव तोमर र जयकिसन कोल्सावालाको उत्कृष्ट साझेदारीमा काठमाडौं किङ्स—११ माथि ललितपुर प्याट्रियट्सले १० विकेटको शानदार जित हात पारेको छ । ईपीएलअन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले १०.३ ओभर खेल्दै विना विकेटको क्षतिमा ११५ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।


ADVERTISEMENT


गौरव र कोल्सावालाले काठमाडौंविरुद्धको खेलमा शानदार इनिङ खेल्दै टिमलाई तेस्रो जित दिलाए । टिमको जितका लागि गौरव तोमरले ३५ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाए भने कोल्सावालाले २८ बलको सामना गर्दै ४ चौकाको मद्दतमा २७ रन बनाए ।


ADVERTISEMENT

# # #


ललितपुरविरुद्ध काठमाडौंका ५ जना बलरले बलिङ गरेपनि ओपनिङ साझेदारी तोड्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंका लागि कप्तान केभिन ओब्राहिमले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा बनाए भने सिदान्त लोहनीले अविजीत २१ रन बनाए । सामसद शेखले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेका थिएनन् ।

त्यस्तै, काठमाडौंविरुद्ध ललितपुरका राशिद खान, पवन शराफ, योगेन्द्रसिंह कार्की, सन्नी पटेल र ललित नारायण राजवंशीले कसिलो बलिङ गरेका थिए । पवन शराफले ४ ओभर बलिङ गर्दै काठमाडौंका महत्वपूर्ण तीन विकेट लिएका थिए ।

उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, राशिद खानले कसिलो बलिङ गर्दै ३.५ ओभरमा १५ रन खर्चेर २ विकेट र योगेन्द्रसिंह कार्कीले ४ ओभर नै बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिएका थिए ।

चितवन टाइगर्सविरुद्धको खेलमा चोटग्रस्त भएका कप्तान सोमपाल कामी आजको खेलमा मैदान बाहिर रहेका थिए । जितसँगै ललितपुर ६ अंकसहित प्लेअफमा पुगेको छ भने काठमाडौंले २ अंकमात्र जोड्न सकेको छ ।