काठमाडौं– ललितपुर प्याट्रियट्सले काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी २० क्रिकेट प्रतियोगितामा भैरहवालाई हराउँदै क्वालिफायर्समा प्रवेश गरेको छ । सन्नी पटेलको उत्कृष्ट बलिङ मदतमा ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


आइतबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो । ९३ रनको सामान्य चुनौति पच्छ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ललितपुरका लागि पवन सर्राफले ३६ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।


ADVERTISEMENT

# # #


ओपनर जयकिसन कोल्सावालाले २७ बलमा अविजित २२ रन बनाए । सन्दीप जोराले १० बलमा अविजित १८ रन बनाए । कमजोर सुरुआत गरे पनि कम लक्ष्य भएका कारण ललितपुरले सहज जित हासिल गर्‍यो।

यता भैरहवाका लागि रायन टेन डेस्काटेले २ विकेट लिँदा मोहम्मद नाभीद र शरद भेषवाकरले १–१ विकेट हात परो ।

यसअघि सन्नी पटेलले पाँच विकेट लिएपछि भैरहवाले ९२ रनमात्र बनाउन सक्यो । उत्कृष्ट बलिङ गरेका सन्नी पटेलले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिएपछि भैरहवाका ब्याट्सम्यानले रनका लागि संघर्ष गर्नुपर्यो ।

सन्नी पटेलले भैरहवाका ओपनर मोहम्मद नाभेद र प्रदीप ऐरी तथा कप्तान शरद भेषावकरका साथै कृष्ण कार्की र कुशल मल्लको महत्वपूर्ण विकेट लिए । गत वर्ष उपविजेता बनेको भैरहवाका कप्तान शरद भेषवाकर १ रन बनाएर पवेलियन फर्किदा नाभेद र प्रदीपले समान २ रन बनाएर आउट भए । कृष्ण शुन्यमा पवेलियन फर्किदा कुशलले ३ रन जोडे ।

रायन टेन डोएसचर्डले जोडेको ३७ रन नै भैरहवाको इनिङमा बनेको सबैभन्दा ठूलो स्कोर हो । रवि इन्दर सिंहले २५ रन जोडे । डोएसचर्ड र रवि इन्दर दुबैलाई योगेन्द्रसिंह कार्कीले आउट गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललितपुरका सन्नी पटेल र योगेन्द्रसिंहबाहेक रशिद खानले २ तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।

पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसयता लगातार चार खेलमा जित निकालेर ८ अंक बनाएको छ । उसले लिग चरणमा शीर्ष दुईभित्र स्थान सुरक्षित गरेको छ । भैरहवा पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । सोमबार काठमाडौं किंग्स–११ र विराटनगरबीच हुने लिग चरणको अन्तिम खेलले क्वालिफायर्समा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।

ललितपुरले पहिलो क्वालिफायर्समा सोझै फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित भएमा लिगमा तेस्रो र चौथो हुने टोलीबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने अवसर हुनेछ ।