कल्याण गुरुङ (केन्द्रीय सदस्य नेपाली कांग्रेस)


ADVERTISEMENT


आन्तरिक किचलोले कांग्रेसलाई छाडेको छैन भन्ने पनि धेरै छन् । यसमा के भन्नुहुन्छ ?


ADVERTISEMENT

# # #


पार्टीभित्र रहेका राजनीतिक समूहलाई व्यवस्थापन गर्न नसक्नु नै कांग्रेसको प्रमुख समस्या हो । समूहभन्दा पार्टीलाई प्रमुख केन्द्रमा राखेर हाम्रा आफ्ना गतिविधिहरु हामीले दिनुपर्छ । पार्टीको महाधिवेशन वा महासमिति बैठकबाट पास भएका राजनीतिक तथा आर्थिक दस्तावेज, पार्टीको विधान र आचारसंहिताभित्र रहेर आफ्ना क्रियाकलाप सञ्चालन गर्दा राम्रो हुन्छ । एकले अर्कालाई सम्मानजनक भाषा प्रयोग गर्ने राजनीतिक संस्कार जुन नेपाली कांग्रेसको छ, त्यसलाई सबैले निरन्तर कायम राख्नुपर्छ ।

तर, विगतमा जुन व्यवस्थाका लागि लड्नुभयो, आज त्यही व्यवस्था कार्यान्वयनको दिशामा हुँदा तपाईँकै नेताहरु संघिता र धर्म निरपेक्षताकाविरुद्ध बोलिरहेका छन् । यसले कांग्रेसलाई कहाँसम्म पुर्याउँछ ?

नेपाली कांग्रेसले भर्खरै महासमितिको बैठक सकिएको छ । बैठकले संघियताको बारेमा आफ्नो धारणा राखिसकेको छ । संविधानमा उल्लेखित संघियतालाई हामीले स्वीकार गरिसकेका छौँ । यसलाई कार्यान्वयन गर्दै ६२/६३ को जनआन्दोलनको उपलब्धीलाई रक्षा गर्नुपर्छ भन्ने निष्कर्ष महासमितिको बैठकले निकालेको छ ।

पछिल्लो निर्वाचनपछि कांग्रेस रुपान्तरणका कुराहरु पनि आए । तपाईहरुले त्यसका लागि विभिन्न किसिमका छलफल र बैठकहरु पनि राख्नुभयो । कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्याउनका लागि के गर्नुपर्छ ?

पहिलो कुरा त नेपाली कांग्रेस जनताको दैलोमा जानुपर्छ । मैँले महिनामा २५ दिन पेटको लागि र पाँच दिन पार्टीको लागि भन्ने नारा दिएको छु । हरेक क्रियाशील सदस्यले आफ्नो पेट पाल्नुपर्ने हुन्छ । आफ्ना छोराछोरी पढाउनुपर्ने हुन्छ । स्वास्थ्योपचार गर्नुपर्ने हुन्छ । त्यसका लागि उसले काम गर्नुपर्ने हुन्छ । महिनामा हामीले २५ दिन आफ्नो र परिवारका लागि गर्छौँ भने ५ दिन पार्टीका लागि काम गनुपर्यो । ५ दिनमा हरेक दिन हामी एक जनाको घरमा जाने र उनीहरुका सुख, दुःख, नेपाली कांग्रेसबाट उनीहरुका अपेक्षाहरु टिपोट गर्नुपर्यो । हरेक क्रियाशील सदस्यले पाँच दिन जनताका घरदैलोमा जाने हो भने ५ लाख क्रियाशील सदस्य भएको कांग्रेसले महिनामा २५ लाख जनताको घरमा जान सकिन्छ । भनेको वर्षमा ३ करोड घरधुरीमा हामी पुग्नसक्छौँ । यस्तै पाँच वर्षमा हामी एक जनाको घरमा पाँच पटक पुग्नसक्छौँ ।त्यसका कारण नेपाली कांग्रेसले यो बाटो खोल्नुपर्छ ।

अर्को क्रियाशील सदस्यको कुरा छ । यसमा  नेतृत्वले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

महाधिवेशनको कुरा आउँदा क्रियाशील सदस्यदेखिनै विवाद उत्पन्न हुन्छ । क्रियाशील सदस्य छनोट गर्दा हामीले बरु कम होस् तर प्रभावकारी हुने किसिमले छनोट गर्नुपर्छ । क्रियाशील सदस्यले पार्टीको विधान, आदर्श, सिद्धान्त बुझेको हुनुपर्यो । आफुले बुझेरमात्रै भएन अरुलाई पनि बुझाउन सक्नुपर्यो ।

पार्टीमा क्रियाशील सदस्यमा ल्याउँदा पूरानालाई विस्थापित नगरिकन नयाँलाई पनि अवसर दिनुपर्छ । त्यसले पार्टीभित्र नयाँ र पूराना पुस्ताहरु मिलेर काम गर्न सजिलो हुन्छ । त्यस्तै क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेका भातृ संस्थाका प्रमुख र पदाधिकारी र जनसम्पर्क समितिका पदाधिकारीहरु लगायत पार्टीमा विशेष भूमिका खेलेकाहरुलाई ‘सुपर डेलिगेट्स’मा राख्दा उहाँहरुको सम्मान पनि हुन्छ । एउटा अवसरको सुनिश्चितता पनि हुन्छ । मलाई लाग्छ यसले पार्टीको क्रियाशीलतालाई पनि बढाउँछ ।

यसले पार्टीको जिल्लासमितिको सभापति भइसकेकाहरुका लागि केन्द्रीय कार्यसमितिमा आउनका लागि बाटो सहज हुन्छ । त्यसकारण नेपाली कांग्रेसका सबै क्रियाशील सदस्य सक्रीय बनाइ राख्नयस्ता विविध कार्यहरु गर्नुपर्ने हुन्छ । त्यसका लागि नेतृत्वले संवाद, सहमति, सहकार्य, एकता र विधानलाई ध्यान दिनुपर्छ ।

अर्को तपाईले श्रमिकहरुलाई तलब दिने कुरा उठाउनु भएको छ । यसको बारेमा बताइदिनुस् न । कुन सन्दर्भमा यो उठाउनु भएको हो ?

मूल कुरा के हो भने अहिले महिनामा एक पटक तलब दिइन्छ । तपाईले भातदाल त सँधै खानु पर्यो । औषधी गर्नुपर्यो । महिना कुरेर त तपाई बस्न सक्नसहुन्न । अझ शिक्षकहरुलाई त चार महिनामा एक पटक तलब दिइन्छ । वर्षमा जम्मा तीन चोटी पाउँछन् । एक महिनाको तलब कुर्दा व्यक्तिगत रुपमा घरखर्च टार्न मुस्किल हुन्छ भने तपाई ऋणमा डुब्नुहुन्छ । दोस्रो अहिले अर्थ व्यवस्थामा पैसा प्रवाह भइरहेको छैन । त्यसले उद्यागभन्दाहरु नचल्ने, अरु क्षेत्रहरु नचल्ने स्थित देखिएको छ ।

अहिले महिनामा एक चोटी गरेर वर्षमा १२ पटक तलब जान्छ । १२ पटक मात्रै मुद्राको प्रवाह देशमा हुुन्छ । यदि हामीले हरेक हप्ता तलब दिने स्थिति निर्वाह गर्योँ भने जुन ५२ पटक हुन्छ । त्यसो हुँदा अहिलेको मुद्रा ५ गुणा बढेर जान्छ । जसले लगानीको वातावरण बन्ने हुँदा अहिलेको भन्दा रोजगारीको स्थिति पाँच गुणा वृद्धि हुन्छ । भनेको के हो भने मुलुक बनाउनुछ भने पैसालाई सुत्न दिनुहुँदैन । पैसालाई तपाईले जति बढी परिचालित गर्नुभयो, त्यसले तपाईलाई बढीभन्दा बढी आम्दानी दिन्छ । त्यसैले मैँले सबै श्रमिकहरुलाई महिनामा नभई हप्तामा तलब दिने प्रणाली ल्याउनुपर्छ भनेको हो ।

अन्त्यमा, यो सरकारको गतिशीलतालाई कसरी हेर्नुभएको छ ? कांग्रेसको भूमिका के हुनुपर्छ ?

हामीले वित्तीय नीतिलाई मात्रै हेर्यौँ । मौद्रिक नीतिलाई हेरेनौँ । मुलुकको मौद्रिक नीति र वित्तीय नीतिसंगसंगै जानुपर्छ । हाम्रो पूँजीगत खर्च एक्दमै कम भइरहेको छ । पूजीँगत खर्च नहुन्दा पैसाको प्रवाह भइरहेको छैन । मुलुकलाई समृद्ध बनाउने हो भने मुलुकको मौद्रिक नीति र वित्तीय नीतिबारे बहस हुनुपर्छ । त्यसकारण राष्ट्रको महत्वपूर्ण कदम चाल्दा प्रमुख प्रतिपक्षी दलसंग सल्लाह गर्ने, राष्ट्रिय राजनीतिक दलहरुसंग सल्लाह गरेर अगाडी बढ्ने गर्नुपर्छ ।

त्यसमा प्रमुख प्रतिपक्षी दलको हैसियतले हामी सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौँ र नराम्रा कामको हामी आलोचना र विरोध गर्छौँ । अहिलेको स्थिति हेर्ने हो भने सरकारले न त वित्तीय नीतिको बारेमा स्पष्ट धारणा बनाएको छ, न त मौद्रिक नीतिको बारेमा स्पष्ट धारणा छ । सरकार कतैकतै अल्मलिएजस्तो देखिन्छ । सरकारले प्रमुख प्रतिपक्षीदलसंग सहमति गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ ।