काठमाडौँ,फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय निकायको चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । साथै उनले एक हप्ताभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने बताए ।
रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने बताए । आयुक्त यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ ।’


ADVERTISEMENT


आयोगले निश्पक्ष, स्वतन्त्र एवं स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै यादवले भने, ‘हामी स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन गर्छौं ।’ प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै उनले छोटो समयमा पनि सफलता प्राप्त गर्न सकिने कुरा उल्लेख गरे ।  प्रमुख आयुक्तले भने  ‘अक्सिजनको सिलिण्डर बोकेर त मान्छेले सगरमाथा चढेका छन्, निर्वाचन आयोगसँग त लगनशील कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ ।’


ADVERTISEMENT

# # #


नेपाल सरकारले आवश्यक कुनै पनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर भनेकाले आफुहरु सरकारले सहयोग गर्नेमा पूर्ण विश्वस्त रहेको यादवले उल्लेख गरे।

चुनावका लागि सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको यादवको भनाई छ । स्थानीय निर्वाचन देश र जनताका लागि अति आवश्यक रहेको बताउँदै उनले भने ‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ ।’

अन्तरराष्ट्रिय जगतको पनि चुनावमा सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्दै यादवले भने ‘आचारसंहिताको सीमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं।’

उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनका लागि आफूहरुले सरकारसँग आग्रह गरेको जानकारी बताए ।