काठमाडौं – निर्माण कम्पनीले तोकिएको समयमा निर्माण गर्न नसकेर अधिकांश आयोजना अलपत्र गरिरहेका बेला रसुवा कन्ट्रक्सनले भने आफ्ना आयोजना सम्झौता अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गरेको छ ।
५० ओटा ठूला भौतिक तथा निर्माण आयोजना ठेक्का लिएको कम्पनीले सम्झौता अवधिभित्र वा पहिले नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने गरिरहेको छ ।


ADVERTISEMENT


कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्यका अनुसार कुल ११ अर्ब रुपैयाँको लागतका विभिन्न निर्माण आयोजनाको ठेक्का पाएर समयअघि नै बनाएर सरकारलाई हस्तान्तरण गरिएको छ । कम्पनीले साढे २ अर्बका पुल, २ अर्ब ५० करोेडका भवन, १ अर्ब ५० करोडका सडक तथा जलविद्युत् आयोजनाको ठेक्का पाएर निर्माण गरिसकेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले ठेक्का पाएर निर्माणकर्मीकै भरमा काम चलाउने परम्पराका आयोजना समयमै नबन्ने भएकाले कम्पनी सञ्चालक पनि निर्माणकर्मी तथा कामदारप्रति सहयोगी भएर काम गर्नुपर्ने बताए । ‘अधिकांश ठेक्का पाएका कम्पनीले स्टाफकै भरमा काम चलाउने बानी छ । यसले आयोजना गुणस्तरीय र समयमै बन्न सक्दैन,’ उनले भने, ‘स्टाफसँगै ठेकेदार सञ्चालक सहयोगी बनेर नियमित रुपमा कामको मूल्याङ्कन र अनुगमन गर्नुपर्छ ।’

कम्पनीमा उनका भाइ मोहन आचार्यले नियमित साथ दिँदै आएका छन् । ‘भाइ मोहन आचार्यले कम्पनीले ठेक्का लिएका आयोजना हेर्छन्,’ उनले भने, ‘उनबाटै कामदारको मूल्याङ्कन, आवश्यक निर्माण सामग्री आपूर्ति र अनुगमन हुन्छ । म पनि कामदारकै सहयोगी भएर काममा हुन्छु ।’ अहिले कम्पनीमा २ सयभन्दा बढी विभिन्न तहका कामदारले रोजगारी पाइरहेका छन् ।

अहिले कम्पनीले लमजुङमा २७ मेगावाटको दोर्दीखोला हाइड्रोपावरको ७० प्रतिशत काम सकेको छ । दोर्दीखोला हाइड्रोपावरको ठेक्का ७० करोड रुपैयाँको हो । त्यस्तै मध्यपहाडी पूर्वी खण्डमा सडक निर्माणको ठेक्का लिएर काम गरिरहेको छ । धरान बीपी कोइराला ममोरियल हस्पिटलको २ अर्ब रुपैयाँको भवन निर्माणको ठेक्का पनि रसुवाले नै पाएको छ । अहिले हस्पिटलको काम विभिन्न कारणले रोकिए पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

२०३० सालमा निर्माण कार्य सुरु गरेको कम्पनीले खासगरी सडक, पुल, भवन, जलविद्युत् आयोजनालगायत अन्य संरचना निर्माण गर्दै आएको हो । पाँच वर्षमा निर्माण गर्ने ठेक्का पाएको सिन्धुलीको मरिनखोलाको पुल कम्पनीले डेढ वर्षअघि नै निर्माण सम्पन्न गरेको छ । त्यस्तै सिन्धुलीकै कमला र रातु नदीमा पक्की पुलको ठेक्का पाएको सम्झौता अवधिभन्दा डेढ वर्षअघि नै निर्माण सम्पन्न गरी सरकारलाई बुझाएको छ ।

रातु पुल दसैंअगावै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालद्वारा उद्घाटन भई सञ्चालनमा छ । तीन ओटा पुल एउटै प्याकेजमा कम्पनीले १ अर्ब २० करोड रुपैयाँमा ठेक्का लिएर निर्माण पूरा गरेको हो ।

कैलालीको टीकापुरमा कर्णाली पुल ५० करोडमा ठेक्का लिएर ३६ महिना तोकिएको अवधिमै सम्पन्न गरेको छ । ४ वर्षअघि २० करोडको ठेक्कामा १ सय ८० मिटर लामो भेरी पुल पनि समयावधि भित्रै सम्पन्न गरी २०७३ मा सरकारलाई हस्तान्तरण गरेको छ । तुल्सीपुरको ग्वारखोलामा बन्ने २ सय मिटर लामो पक्की पुल सम्झौताको अवधिभन्दा डेढ वर्षअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको थियो ।