काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सैद्धान्तिक, सांगठनिक र सरकारका कामकारवाहीका विषयमा धारणा राखेको स्थायी कमिटी सदस्य अग्नि सापकोटाले जानकारी दिए ।


ADVERTISEMENT


पार्टीले सरकारको विरोध गर्नु भन्दा सघाउनु पर्ने धारणा राख्दै घुमाउरो पारामा प्रचण्डले सरकारको बचाउ गरेका थिए । पार्टी एकता असाधरण एकता भएको र तल्लो तहसम्मको एकतामा ढिलाई भएको स्वीकारोक्ति प्रचण्डले गरेका थिए । सापकोटाका अनुसार बैठकमा नेताहरुले उठाएका प्रश्नहरु जायज रहेको र छिटै यसको सम्बोधन गरिने आश्वासन प्रचण्डले दिएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीमा सरकारका बारेमा उठेका यावत् विषयबारे समेत प्रचण्डले प्रकाश पारेका थिए । सरकार सञ्चालनका अन्तर्राष्ट्यि मान्यता र दृष्टान्त पस्कँदै अध्यक्ष प्रचण्डले सरकारले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । “सरकार र पार्टीलाई अलगअलग गरेर हुेर्नु हुँदैन, द्वन्द्वात्मक रूपमा बुझ्नुपर्छ । पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, सरकारले पनि पार्टीबाट सहयोग, मद्दत लिनुपर्छ,” अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले एक घण्टा ५५ मिनेट बोलपछि आजको बैठक सकिएको थियो । नेकपा स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । भोलीको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् । ओलीको जवाफपछि नेकपाको स्थायी कमिटी बैठक सकिनेछ ।

आजदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाले आजको बैठकमा प्रचण्डले मात्र बोलेका हुन् । २९ मंसिरमा सुरु भएको बैठकमा ४४ जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राखेका थिए । आधाभन्दा बढी नेताले सरकार प्रभावकारी नभएको र पार्टी नेतृत्व गतिहीन भएको आरोप लगाउँदै जवाफ मागेका छन् ।